नयाँ दिल्ली (एजेन्सी), फाल्गुन ८ - प्रायः युवती जस्तै नायिका जेनेलिया डिसुजाले पनि विवाहपछि आफ्नो प्राथमिकता फेरिएको बताएकी छन् । विवाह गरेको महिना दिन पनि बित्न नपाउँदै उनले आफ्ना लागि फिल्म करिअरभन्दा पति र परिवार महत्त्वपूर्ण रहेको बताएकी छन् । नायक रितेश देशमुखसँगको आठवर्षे प्रेमलाई विवाहमा परिणत गरेकी २४ वर्षीया जेनेलियाले फिल्म खेल्न भने नछोड्ने बताएकी छन् ।
'जीवन विवाहपछि अझ रमाइलो रहेछ । म आफूलाई उसको -रितेश) परिवारको सदस्यको रूपमा पाउँदा रोमाञ्चक अनुभूत गरिरहेकी छु,' उनले भनेकी छन्, 'फिल्म पनि खेल्नेछु तर प्राथमिकतामा परिवार नै पर्नेछ । फेरि फिल्म खेलिहालें भने पनि रितेशसँग मात्रै खेलूँ वा के गरूँ ? वर्षमा कति वटासम्म खेलूँ भन्ने केही निश्चित गरिसकेकी छैन ।' उनले परिवारमा पनि थिती मिलाउन समय लाग्ने भएकाले त्यसबारे सोच्न नभ्याएको बताएकी हुन् ।
बलिउड प्रवेश गर्दा सुरुमै रितेशसँग फिल्म खेलेपछि दक्षिण भारतीय फिल्ममा बढी सक्रिय भएकी जेनेलियाले 'जाने तू या जानेना' बाट धमकेदार पुनरागमन गरेकी थिइन् । तर फेरि उनै रितेशसँग पछिल्लो फिल्म 'तेरे नाल लभ हो गए' खेलेपछि दुईको विवाह भएको हो । उनले रितेश आफ्नो जीवनकै ठूलो उपहार भएको टिप्पणी पनि गरिन्, 'ऊ वास्तवमै मैले सपनामा देख्ने जस्तै छ । ऊ र उसको परिवारले मलाई अत्यन्तै आदर गर्छन् ।'कान्तिपुर