काठमान्डौ,
फागुन १२ गते ।
शान्ति र संविधानको बाँकी काम पूरा गर्ने बारेको कार्ययोजना तयार गर्ने जिम्मा ३ दलका शीर्ष नेताहरुलाई दिइएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा आज बिहान भएको ३ दलका शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माण बारेका गतिविधिको समीक्षागर्दै आगामी योजना बनाउनको लागि दलहरुबीच कामको बाँडफाँड गरिएको हो ।
शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन उत्पन्न समस्या, समाधानको लागि आवश्यक उपाय, आगामी योजनाको बारेमा गृहकार्य गर्ने जिम्मा एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई दिइएको छ भने भावी संविधानका विवादित बुँदामा सहमति गर्नेक्रममा देखिएका समस्या तथा समस्या समाधानको उपायको बारेमा गृहकार्य गर्न नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिइएको छ भने नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई विचाराधिन आयोग, ती आयोग पारित गर्नको लागि भएका समस्या, लगायत शान्ति र संविधानसँगै जोडिएका बिषयमा गृहकार्य गर्ने जिम्मा दिइएको छ । तीनै जना नेताले तयार पारेको कार्ययोजना भोलि बस्ने शीर्ष नेताहरुको बैठकमा पेस गर्ने सहमति भएको छ ।
बैठकपछि एमाले बरिष्ठ नेता माधवकुमार नेपालले शान्ति र संविधानको बारेमा मुख्य नेताहरुबीच गम्भीर छलफल भएको र एक साताभित्रै महत्वपूर्ण सहमति हुने दावी गर्नुभयो । आजको बैठकमा एकीकृत माओवादीले खाली भएका लडाकु शिवीर तत्काल बन्द गर्न सहमति जनाएको नेता नेपालले जानकार दिनुभयो । विशेष समितिले खाली भएका लडाकु शिवीर बन्द गर्ने निर्णय गरेको भए पनि माओवादीले घाइते तथा अपाङ्ग लडाकुहरुको पुनस्थापनापछि मात्र शिवीर खालिगर्ने बताउँदै आएको थियो ।