सुजल श्रेष्ठ,
प्यूठान फागुन ९ गते ।
हिजो भएको दुर्घटनामा मृत्यु भएकाका आफन्तजनले क्षतिपूर्तिको माग गर्दै प्यूठानमा बाटो बन्द गराएका छन् । दुर्घटनापछि मृतकका आफन्तजनहरुले शव सडकमा राखेर बाटो बन्द गराएका हुन् । बन्दका कारण प्यूठान जिल्लाबाट बाहिरिने कुनै पनि सवारी साधन चलेका छैनन भने जिल्ला भित्रने यात्रुहरुलाई पनि समस्या परेको छ ।
आफन्तजनले विमा बाहेकको थप १ लाख रुपैया माग गरेको र यातायात व्यावसायी समितिले थप दश हजार बाहेक दिन नसक्ने जनाएपछि हिजो भएको वार्ता निष्कर्षमा नपुगी टुंगिएको थियो । बाटो खुलाउने विषयमा स्वर्गद्धारी यातायात बस व्यावसायी समिति, स्थानीय प्रशासन र पिडीत पक्षवीच आज पनि वार्ता हुने प्रहरीले जनाएको छ ।
प्यूठानको बरौलाबाट विजुवारका लागि छुटेको लु १ ज १६६८ नम्वरको यात्रुवाहक जिप दाखाक्वाडी ३ बेलुवामा हिजो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र दुइ जनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।
मृत्यु हुनेमा बिजुली ३ का लालबहादुर श्रेष्ठ, उहाँका छोरा विष्णु श्रेष्ठ, दाखाक्वाडी ३ का दुर्गा धामी, धुवाङ २ का कमल भण्डारी र खलंगा १ कसेरीका बसन्ता खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।