रामहरी खकुरेल, बेल्जियम - हिन्दूहरुको महान पर्व शिवरात्रि बेल्जियमको राजधानि ब्रसेल्समा विशेष पुजा आरधनाकासाथ सोमवार सम्पन्न भएको छ। सनातन धर्म सेवा परिषद र ब्रुसेल नेपाल मिलन केन्द्रको संयुक्त आयोजनामा सम्पन्न धार्मिक कार्यक्रमका सयौं श्रद्धालु भक्तजनहरु समुपस्थित भई शिवको पुजा अर्चना गरेका थिए।
पुजा समारोहमा बेनलुक्सका लागि नेपाली कार्यवहाक राजदुत कुमार राज खरेलले नेपाली कला संस्कृति र परम्पराको संरक्षण गर्दै शिवरात्रि पर्व मनाउन लागेकोमा प्रशन्नता व्यक्त गर्नुभयो। अन्तराष्ट्रिय जगतले समेत अध्ययन अनुसन्धानको परिधिमा ल्याएको वैदिक धार्मिक तथा सांस्कृतिक मान्यता नयाँ पुस्तालाई वुझाउन आवश्यक रहेको उहाँको भनाई थियो। सनातन धर्म संस्कृतिको संरक्षण तथा संवर्धन गर्दै कार्यक्रमको आयोजना गरिएकोमा एनआरएन आईसीसी सदस्य अर्जुन कुमार श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो।
शंकर भगवानको आरधनाका लागि फलदायक मानिएको उक्त पावन दिन बेल्जियमस्थित पण्डित राम प्रसाद ढुंगानाले वैदिक कर्मकाण्डीय विधि अनुसार पुजा आरधना गराउनुभएको थियो। भक्तजनहरुले शास्त्रीय मान्यता अनुसार पञ्चामृत तथा रुद्राभिषेक विधि अनुसार शिवपार्वतीको विशेष पुजा आरधना मात्र गरेनन्, सुमधुर आरति,भजन र नृत्य गर्दै परमात्मा प्रति प्रेमभाव दर्शाए। विगत तीन वर्षदेखि नियमित रुपले शिवरात्रि मनाउँदै आएको आयोजक संस्थामध्येको एक सनातन धर्म सेवा परिषदका अध्यक्ष रविन्द्रमान श्रेष्ठले शंकर भगवानको विशेष पुजा आरधनाको प्रतिनिधित्व गरे, अन्य भक्तहरुले शिवलिङ्गमा जलधारा गरे। बेल्जियमबासी भक्तजनहरुको स्तुतिले भवन गुन्जायमान बन्यो र शिवजीलाई सभक्ति वेलपत्रसहित पुष्पाञ्जलि चढाईयो।
एन्टरपेन, लुभेन लगायतका वेल्जियमका विभिन्न सहरबाट पुजा सामाग्रीकासाथ आएका भक्तजनहरुले विशेष पुजा आरधना गरेका थिए। अन्त्यमा आरति विसर्जनका साथ भजन तथा नृत्य समेत भएको थियो। युरोपको अन्य शहरहरुको तुननामा बेल्जियमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुने क्रम वढ्दो छ जसले प्रवासी नेपालीहरुमा थप चासो जगाएको छ।
उक्त पर्वमा एन आर एन वेल्जियमकी अध्यक्ष श्रीमती जानकि गुरुङ, आईसीसी सदस्यहरु, बेल्जियम स्थित विभिन्न संघ-संस्थामा प्रतिनिधिहरु, विद्यार्थी, पत्रकार आदिको उपस्थिति रहेको थियो। समारोह सन्चालनका लागि ब्रुसेल नेपाल मिलन केन्द्रले पुजाहलको प्रायोजन तथा स्वयंसेवक परिचालन गरेको थियो भने नमस्ते नेपाल होलसेल पसलले फल-प्रसादको व्यवस्था गरेको थियो। प्रविधि तर्फ ईन्द्रधनुष क्ल्बले श्रव्य उपकरणहरु उपलब्ध गराएर उल्लेखनीय सहयोग गरेको थियो। दिपक ज्योति पौडेलले आयोजना गर्नुभएको कार्यक्रमा विष्णु शापकोटा र दिपक सुवेदीले प्राविधिक सहयोग पुर्याउनुभएको थियो।