काठमाडौँ,
फागुन ८ - आज महाशिवरात्रि पर्व मुलुकभर परम्पराअनुसार धुमधामसँग मनाइँदैछ । शिवरात्रिको अवसरमा मुलुकभरका शिवालयहरुमा दर्शनार्थीको भीड लागेको छ ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले दर्शनार्थीको सुरक्षा र भीड नियन्त्रणका लागि चार हजारभन्दा बढी संख्यामा प्रहरी खटाइएको जानकारी दिनुभयो । यस्तै मारवाडी सेवा समितिलगायत विभिन्न संघसंस्थाले दर्शनार्थीको भीड व्यवस्थापनका लागि सयौंको संख्यामा स्वयंसेवक परिचालन गरेका छन् । यस्तै आकस्मिक उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्कर्मी टोली खटाइएको छ । पशुपति क्षेत्र विकास कोषले पहिलोपटक यसपालिदेखि मन्दिरमा भक्तजनले चढाएको भेटी कोषको खातामा जम्मा गर्ने भएको छ । यसअघि पूजाबापतको भेटी भट्ट र मन्दिरमा चढाएको भेटी भण्डारीहरुले बाँडेर लिने गरेका थिए । यसपालिदेखि भने उनीहरुले भेटी नभई पारिश्रमिक पाउनेछन् । शिवरात्रीको अवसरमा पशुपतिका अलावा ललितपुरको कुम्भेश्वर, ललितपुरको कैलाशनाथ, खोटाङको हलेसी र अछामको वैद्यनाथलगायतका शिवालयहरुमा पनि बाक्लो संख्यामा शिव भक्तहरु पूजाआजाका लागि भेला भएका छन् ।
यसैबीच महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाले आज राजधानीको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतका अधिकारीहरु सैनिकमञ्च पुगेका थिए । कार्यक्रममा सेनाका उत्कृष्ट गणहरुलाई राष्ट्रपतिले निशाना प्रदान गर्नुभएको थियो ।
नेपाली सेनाले विगत २१ वर्षदेखि महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आएको छ । समारोहमा नेपाली सेनाका विभिन्न युनिटद्वारा मार्चपास, दैवी प्रकोप नियन्त्रण तथा कवाजलगायतका कलाकौशल प्रदर्शन गरिएको थियो । अनलाईन खबर