घनश्याम पाण्डेय,
पोखरा फागनु १० गते।
एकीकृत नेकपा माओवादी कास्कीले प्रगतिशील साहित्यकार धनश्याम ढकालको स्मृतिमा आज पोखरामा श्रद्धाञ्जली सभाको आयोजना गर्दैछ । फागुन १ गते सडक दुर्घटनामा परी निधन भएका साहित्यकार ढकालको स्मृति सभामा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सम्बोधन गर्नुहुने भएको छ ।
बिहान ११ बजेपछि पोखराको सहिद पार्कमा श्रद्धान्जली सभा हुने माआवादी कास्कीका इन्चार्ज झलकपाणी तिवारीले जानकारी दिनुभयो । प्रगतिशील लेखक सङ्घका अध्यक्ष एवम् अखिल नेपाल लेखक संघका समेत अध्यक्ष ढकाल लामो समय प्राध्यापन पेशामा सम्लग्न हुनुहुन्थ्यो ।
गत फागुन १ गते राजधानीमा माओवादी केन्द्रीय समितिले आयोजना गरेको १७ औं जनयुद्ध दिवसको अवसरमा आयोजित सभामा सहभागी हुन जाने क्रममा मोटरसाइकलको ठक्करबाट ढकालको निधन भएको हो । जनयुद्धमा सहभागी उहाँका छोरा विजय ढकालले २०६१ साल पुस २९ गते शहादत प्राप्त गर्नु भएकोे थियो । ढकालका दुई दर्जन बढी प्रगतिवादी कृतिहरु प्रकाशन भएका छन् । वि.स. २००९ सालमा स्याङ्गजा सतौंमा जन्मिएका ढकाल लामो समय पोखरा र पछिल्ला वर्षहरुमा राजधानी काठमाण्डूँमा बस्दै आउनुभएको थियो ।