तनहुँ, फागुन १७ -लमजुङको भोर्लेटार-६ अर्चलेस्थित खेतमा बुधबार बेवारिसे अवस्थामा ल्याण्डमाइन बम फेला परेको छ। स्थानीय मनबहादुर भुजेलले गाईबस्तु चराउन जाने क्रममा खेतको बीचमा गाडेको अवस्थामा ल्याण्डमाइन भेटिएको हो। बम भेटिएपछि स्थानीय आतङ्कित भएको एकीकृत नेकपा माओवादीका लमजुङ सह इन्चार्ज मोहनहरी पौडेलले बताए।
२०५८ सालदेखि नेपाली सेनाले खडा गरेको क्याम्प क्षेत्रमा माइन फेला परेको हो। सेनाले त्यस क्षेत्रमा कुनै पनि जोखिम नभएको भन्दै गत वर्षमात्र क्याम्प छाडेको थियो। बम भेटिएको खेतदेखी करिब १ सय मिटरको दुरीमा स्थानीयको बस्ती रहेको पौडेलले बताए।
नेपाललाई गत वर्ष नै ल्याण्डमाइन मुक्त राष्ट्र घोषणा गरेपनि यस्ता माइन भेटिनु दुःखद भएको उनले बताए।
बम फेला परेको भन्दै स्थानीयले जानकारी गराएपछि तनहुँको खैरेनीटार स्थित ३ नम्बर बाहिनीबाट सेना पठाइ बुधबार साँझ नै बम डिष्पोज गरेको लमजुङका निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछानेले बताए।
'अनमिनको रोहबरमा यसअघि नै सबै बम हटाएर क्याम्प सरेको थियो।' उनले भने, 'खेत खन्ने क्रममा बम फेला परेको जानकारी पाएपछि सेना पठाएका हौ।' बम फेला परेको क्षेत्रमा सुरक्षा घेरा हालेर सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको इलाका प्रहरी कार्यालयले भोर्लेटारले जनाएको छ। (नागरिक)-