काठमाडौं, माघ१८ -राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमभित्र भएका विभिन्न घटनामा संलग्न २६ दोषी कर्मचारीमाथि कारबाही सुरु भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दोषीलाई कारबाही गर्न पत्र पठाएको निगमका प्रवक्ता तथा नायब महाप्रबन्धक राजुबहादुर केसीले जानकारी दिए ।
“आजमात्रै मन्त्रालयबाट पत्र आइपुगेको छ,” उनले भने, “अब यो विषय सञ्चालक समितिमा छलफल हुन्छ ।”निगमभित्र भएका विभिन्न ६ वटा घटनामा गरिएको अनुसन्धानपछि वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र भन्सार विभागका २६ कर्मचारी दोषी पाइएका छन् । अनियमितता छानबिन उच्चस्तरीय आयोगले आइतबार पर्यटन मन्त्रालयलाई सुझाव बुझाएको थियो । एकै व्यक्ति दुईभन्दा बढी घटनामा संलग्न रहेको समेत प्रतिवेदनमा छ ।
निगमभित्र गत ६ महिना अवधिमा करोडौं मूल्यका पार्टपुर्जा चोरी, नक्कली प्रमाणपत्र दिई भारतीय नागरिकलाई नियुक्ति, जहाजमा क्षति, जहाजका पाङ्ग्रा र ल्यान्डिङ गियर चोरी, जहाजमा मुसाजस्ता ६ वटा चर्चित घटना भएका थिए । आइतबार प्रतिवेदन सार्वजनिक गर्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले कानुनअनुसार कडा कारबाही हुने बताएका थिए ।
साढे ४ करोड रुपैयाँ बराबरको फ्लाई अवे किट चोरीमा आयोगले निगमका बद्रीनारायण झा, इन्जिनियर शंकरबहादुर थापा, अञ्जनदत्त कोइराला, रत्नकुमार मानन्धर, अच्यूतराज पहाडी, मेन्टिनेन्स एन्ड प्लानिङ डिभिजनका उपनिर्देशक सन्तोषकुमार खाती र क्वालिटी एसुरेन्स एन्ड फ्लाइट सेफ्टीका निर्देशक रवीन प्रधानलाई दोषी किटान गरेको छ । दोषीहरूलाई विभागीय कारबाही गर्न तथा क्षतिबराबरको बिगो असुल गर्नसमेत आयोगले सुझाएको छ ।
निगमको ९ एन–एसीबी जहाजको अगाडि र पछाडिको पाङ्ग्रा हराएको सम्बन्धमा इन्जिनियर अञ्जनदत्त कोइराला, शंकरराज कारञ्जित, प्रज्ज्वल श्रेष्ठ, राजेशप्रसाद श्रेष्ठ, बद्रीनारायण झा, निर्देशक दिगम्बर राजभण्डारी र प्राधिकरणका अधिकृत रुद्रजंग बस्नेत दोषी देखिएका छन् ।
ल्यान्डिङ गियर हराएको घटनामा स्टोर प्रमुख निगमका इन्जिनियर कृष्णप्रसाद अर्याल, पारवहन गोदाम कार्यालय विमानस्थलका प्रमुख अजयकुमार काफ्ले पारवहनका अर्का कर्मचारी सञ्जितकुमार साह, वरिष्ठ सहायक कन्हैया राजभण्डारी, सहायक राजकुमार सञ्जेल, जुनियर सहायक कृष्णप्रसाद पुडासैनी र विमानस्थलका भन्सार कार्यालय जाँच खरिदार विजयबहादुर शाही, नायब सुब्बा उद्धव थपलियालाई दोषी किटान गरिएको छ । उनीहरूलाई समेत विभागीय कारबाही गरी बिगो असुल गर्न निर्देशन छ । प्रमुख भन्सार अधिकृत मोहनकुमार महत, भन्सार अधिकृत गोविन्द अधिकारीलाई पनि कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।
भारतीय नागरिकलाई नक्कली नियुक्ति दिएको सम्बन्धमा इन्जिनियर अच्युतराज पहाडीलाई हदैसम्मको कारबाही गर्न सिफारिस गरिएको छ । यो घटनामा पहाडीसहित, ओमप्रकाश यादव र सञ्जय ठाकुर दोषी देखिएका छन् ।
जहाजमा मुसा पसेको सम्बन्धमा भण्डार शाखाका इन्चार्ज सहदेवबहादुर क्षेत्री, वरिष्ठ लोडर सुनीलप्रसाद पौडेल र ज्ञानीराजा रञ्जितकार र वरिष्ठ सहायक लोडर जनकबहादुर प्याकुरेल दोषी ठहर गरिएका छन् ।
मंसिर १८ गते महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटीको संयोजकत्वमा गठित उच्चस्तरीय आयोगले ५१ दिन लगाएर प्रतिवेदन बुझाएको थियो ।
दोषी ठहरिएका कर्मचारी संलग्न घटना
इन्जिनियर अच्युतराज पहाडी फ्लाइ अवे किट चोरी÷भारतीय नागरिकलाई नक्कली नियुक्ति
इन्जिनियर शंकर बहादुर थापा फ्लाइ अवे किट चोरी
इन्जिनियर अञ्जनदत्त कोइराला
रत्नकुमार मानन्धर
बद्रीनारायण झा
मेन्टिनेन्स उपनिर्देशक सन्तोषकुमार खाती
सेफ्टी निर्देशक रवीन प्रधान
शंकरराज कारञ्जित पाङ्ग्रा चोरी
प्रज्ज्वल श्रेष्ठ
राजेशप्रसाद श्रेष्ठ
निर्देशक दिगम्बर राजभण्डारी
प्राधिकरण अधिकृत रुद्रजंग बस्नेत
इन्जिनियर कृष्णप्रसाद अर्याल
विमानस्थल गोदाम प्रमुख अजयकुमार काफ्ले
पारवहनका कर्मचारी सञ्जितकुमार साह ल्यान्डिङ गियर चोरी
पारवाहन वरिष्ठ सहायक कन्हैया राजभण्डारी
सहायक राजकुमार सञ्जेल
सहायक कृष्णप्रसाद पुडासैनी
नायब सुब्बा उद्धव थपलिया
प्रमुख भन्सार अधिकृत मोहनकुमार महत
भन्सार अधिकृत गोविन्द अधिकारी
ओमप्रकाश यादव
सञ्जय ठाकुर
वरिष्ठ सहायक लोडर जनकबहादुर प्याकुरेल
ज्ञानीराजा रञ्जितकार भारतीय नागरिकलाई नक्कली नियुक्ति
भण्डार इन्चार्ज सहदेवबहादुर क्षेत्री जहाजमा मुसा प्रकरण
साभार एनएम खबर