काठमाडौं, माघ २५ - पत्नी हत्यामा डिआइजी रञ्जन कोइरालालाई सघाएको भन्दै पक्राउ परेकी उनकी प्रेमिका तारा रेग्मीलाई अदालतले पाँच दिन हिरासत राख्न आदेश दिएको छ। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पोखरेलले रेग्मीलाई अनुसन्धान गर्न पाँच दिनको म्याद दिएका हुन्।
'हिजोदेखि लागू हुने गरी पाँच दिन म्याद थप गरिएको छ,' काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार भरत लम्सालले भने, 'डिआइजी र रेग्मीलाई सँगै अदालतमा उपस्थित गराउने गरी आज पाँच दिनको म्याद दिइएको छ।'
रेग्मीलाई महानगरीय प्रहरी अपराध महाशाखाले डिल्लीबजारबाट सोमबार साँझ पक्राउ गरेको थियो।
कोइरालाले पुस २७ गते श्रीमती गीता ढकाललाई हत्या गरेपछि माघ ८ गते नागढुंगामा पक्राउ परेका थिए। कोइराला पक्राउ परेदेखि नै फरार रेग्मीको पनि हत्यामा संलग्नता हुन सक्ने भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो। (नागरिक¬)