Responsive Ad Slot

latest

साउदीको लागि भिसा लिन वार्षिक एक अर्ब खर्च

Sunday, February 26

/ by Samsung
काठमाडौ, फागुन १५- साउदी अरबले नेपालमा दूतावास नखोल्दा वैदेशिक रोजगारीका लागि त्यहाँ जाने प्रत्येक नेपालीले १० हजार रुपैयाँ थप शुल्क तिर्नुपरेको छ। साउदी जाने कामदारको भिसा नेपालमै आए पनि त्यसमा छाप लगाउन बंगलादेश जानुपर्ने भएकाले प्रति कामदार कम्तीमा १० हजार रुपैयाँ व्यभार थपिने व्यवसायी बताउँछन्।

पछिल्लो समय साउदीमा वार्षिक एक लाख नेपाली युवा जाने गरेका छन्। यो हिसाबले प्रतिवर्ष नेपाली युवाले भिसाकै लागि एक अर्ब रुपैयाँ अतिरिक्त रकम तिर्नुपरिरहेको छ। व्यवसायीहरु साउदीले दिने भिसामा छाप लगाउने मात्र काम नेपालमै भए वार्षिक एक अर्ब रुपैयाँ बचत हुने बताउँछन्।
व्यवसायीका अनुसार भिसामा छाप लगाउन बंगलादेश जाँदा-आउँदा त्यहाँ बस्दाको सबै खर्च जाने कामदारको शुल्कमा जोडेर लिने गरिन्छ। 'मुलुकभित्र दूतावास नहुँदा नेपाली कामदारले १० हजार बढी शुल्क तिर्नुपरेको ,' नेपाल फरेन इम्प्लवाइमेन्ट एसोसिएसनका अध्यक्ष प्रेम कटुवालले आइतबार नागरिकसँग भने, 'नेपालले कूटनीतिक पहलमा बढी जोड दिन नसक्दा ऋण काढेर विदेश जानेलाई आर्थिक भार थपिएको छ।' साउदीले नेपालमा दूतावास राख्ने निर्णय गरे पनि लामो समयसम्म स्थापना भएको छैन।
'कूटनीतिक पहलमा आवश्यक जोड नभएकाले दूतावास स्थापना हुन ढिलाइ भएको हो,' उनले भने, 'फलोअप गरिए दूतावास चाँडै स्थापना हुनसक्छ।' व्यवसायीहरु बंगलादेश भिसा लगाउन जाँदा कहिले सिस्टम बिग्रिएर त्यतिकै रित्तो हात फर्किनुपर्ने अवस्था आउने बताउँछन्। उनीहरुका अनुसार यस्तो अवस्थामा तोकिएको समयमा कामदार साउदी पठाउन समेत सकिदैन। अर्कोतर्फ व्यवभार पनि थपिन्छ। समयमा कामदार नपठाउँदा रोजगारदाताले नेपाललाई प्राथमिकतामा राख्दैन।
'पासपोर्ट लिएर गएको २० दिनसम्म सिस्टम बिग्रिएर त्यतिकै फर्के,' इसान ओभरसिजका सञ्चालक टेकराज ज्ञवालीले भने, 'यस्ता समस्या सधैजसो व्यवसायीले भोगिरहनुपरेको छ।' उनका अनुसार कतिपय भिसा लागेपछि पनि बिग्रिए फेरि बंगलादेश जानुपर्ने बाध्यता छ।
'सामान्य त्रुटि भए पनि बंगलादेशै पुग्नुपर्छ। यस्ता धेरै समस्या व्यवसायीले भोगिरहेका छन्,' ज्ञवालीले भने, 'व्यवसायीले सास्ती भोगेका छन् भने विदेश जाने कामदारले थप रकम तिर्नुपरेको छ।' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले बंगलादेश भिसा लगाउँदा अतिरिक्त शुल्कबाहेक जोखिमसमेत हुने बताए।
'बंगलादेश पासपोर्ट लिएर जाँदा हराउनेलगायत समस्यासमेत चर्को ,' उनले भने, 'जोखिमै मोलेर बंगलादेश जानुपर्ने बाध्यता छ।' 'म्यानपावरले भिसाकै लागि ठूलो रकम बंगलादेश लगिरहेका छन्। दूतावास नभएर रकम बाहिरिँदासमेत सरकार संवदेनशील हुन सकेको छैन,' खनालले भने, दूतावास नहुँदा साउदीको लगानीसमेत नेपालमा आउन सकेको छैन। बंगलादेशमा साउदीको दूतावास रहेकाले उसको लगानी तेस्रो स्थानमा रहेको खनालले जानकारी दिए। दूतावास भए प्राथमिकतामा राखेर ठूलो लगानी नेपालमा आउनसक्थ्यो।'
व्यवसायीहरु साउदी दूतावास नेपालमा भए गैरकानुनी रुपमा कामदार जाने क्रमसमेत रोकिने बताउँछन्। 'दूतावास नहुँदा भारत बंगलादेश हुँदै गैरकानुनी रुपमा नेपाली साउदी गइरहेका छन्,' एसोसिएसनका अध्यक्ष कटुवालले भने, 'दूतावास स्थापना हुने बित्तिकै गैरकानुनी जाने क्रम रोकिन्छ।' दूतावास स्थापना भएपछि नेपाली भिसा बाहिर लगाउन पाइँदैन। यसले गैरकानुनी कामदार जानै रोकिन्छ। साउदीमा जाने नेपालीहरु निर्माण, सुरक्षा, होटलजस्ता क्षेत्रमा बढी रुपमा काम गर्न जाने गरेका छन्। अधिकांशको आम्दानी २० हजार रुपैयाँभन्दा बढी हुँदैन।
Don't Miss
© all rights reserved
made with by netKUTI