काठमाण्डौ,
माघ २८- राष्ट्रिय सहमतिको सरकार गठन र जनसत्ताबारे उत्पन्न विवाद एकीककृत माओवादीले आज मिलाउने भएको छ । २ दिनदेखि सुरु भएको माओवादी स्थायी समितिको बैठकले राष्ट्रिय सहमतिको सरकार गठनको बारेमा दलहरुसँग छलफल गर्ने र सोही अनुसार स्थायी समितिमा प्रस्ताव ल्याउन हिजो जिम्मा दिएको थियो ।
करिब १ महिना पहिले जनसत्ताको कारोबारलाई मान्यता दिने निर्णय गरेको सरकारले प्रतिपक्षी दलहरुको विरोधपछि अस्ति फिर्ता लिएपछि माओवादीको बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले उपाध्यक्ष समेत रहनु भएका प्रधानन्त्री डा बाबुराम भट्टराईको राजिनामाको माग गर्दै आएको छ ।
राष्ट्रिय सहमतिको सरकार र जनसत्ताबारे उत्पन्न विवाद मिलाउनेबारेमा छलफल गर्न बिहान बोलाइएको स्थायी समितिको बैठक दिउँसोको लागि सारिएको छ । पूर्वनिर्धारित समयमा स्थायी समितिको केही सदस्यहरु आइसकेको भए पनि दलहरुसँगको छलफल बाँकी रहेकोभन्दै अध्यक्ष प्रचण्डले दिउँसोको लागि बैठक सारेको बताइएको छ ।
हिजो र अस्ति बसेको स्थायी समितिको बैठकबाट जनसत्ताको कारोबारबारे उत्पन्न विवाद मिल्न नसकेपछि काङ्ग्रेस, एमाले लगायतका दलहरुसँग औपचारिक तथा अनौपचारिक छलफल गरेर समस्या समाधानको लागि फेरि बैठक बस्ने माओवादी नेताहरुबीच सहमति भएको थियो ।