दिलिप अविरल |
हर्केलाई अघिल्ला वर्षहरुझैँ आज पनि महाशिवरात्री पर्वले आलिङ्गन गरिसकेको छ । अघिल्लो वर्षमा महाशिवरात्रीको दिन साथीसंगीसँग मिलेर हुक्का–चिलीम भाङँ धतुरो खाएर रातभरि महादेव जस्तो लठ्ठिएको क्षणलाई सम्झी आज फेरी उही कार्य पुनरावृति गर्ने म्याराथुन दौडमा छ ऊ । त्यसैले ऊ सामानको सबै बन्दोवस्त मिलाएर साथीभाइलाई एकिकृत गर्न गाउँघर तिर निस्कियो । विडम्बना घरको एकमात्र चुलबुले छोरो राहुलले बाबाले भरे खान भनेर राखेका ती विविध पदार्थहरु (भाङ, धतुरो तथा हुक्का) खाइदियो । विस्तारै त्यो कलिलो वालकलाई नसाले छोप्न थाल्यो । नसाको अधिक मातले वालक भूइँमा लड्यो................केवल निस्प्राण भएर । उता आफ्नो काम फत्तेपारी घर फर्कदा हर्केलाई घरको मझेरीमा मान्छेहरुको भिडले बेस्सरी खिच्यो । ऊ भिडको नगिच पुग्यो । छेउमै एउटा अबोध वालक निकै दर्दनाक तवरले बमन गरेर लडिरहेको थियो अचल भएर । त्यो अबोध वालक कोही नभएर उसैको प्राणभन्दा प्यारो छोरा राहुल थियो । ऊ चिच्यायो, करायो तर व्यर्थ थियो । अनि पुर्पुरोमा हात राख्दै धर्म संस्कृतिको नाउँमा गलत विचारको अनुशरण गर्दाको पिडा बोध भएर ऊ पश्चतापमा जलिरहयो ।
दिलिप अविरल
मधुमल्ला, मोरङ
हाल दोहा, कतार