काठमान्डौ फागुन १४ गते ।
एकीकृत नेकपा माओवादी आगामी तीन साताभित्रमा लडाकुको अस्थायी शिविर खाली गर्न तयार देखिएको छ । शान्ति, संविधान र संयुक्त राष्ट्रिय सरकार गठनलगायतका विषयमा प्याकेज सहमति जुटाउने प्रयासमा आइतबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा माओवादीले त्यसबारे लिखित प्रस्ताव प्रस्तुत गरेको हो । सो सम्बन्धी प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डले बैठकमा पेस गर्नुभएको थिया ।
तर, नेपाली काँग्रेस र एमालेले भने आफ्नो जिम्मेवारी अनुसारको कुनै प्रस्ताव पेस गरेन । आ(आफ्नो पार्टीमा आन्तरिक छलफल गर्न बाँकी रहेको भन्दै ती दुई दलले कुनै प्रस्ताव पेस नगरेका हुन् ।
बैठकमा शान्ति, संविधान र विभिन्न आयोग गठनका विषयमा तीनै पार्टीले आ(आफ्नो जिम्मेवारीमा परेको विषयमा प्रस्ताव पेस गर्ने कार्यक्रम थियो । शुक्रबारको शीर्ष बैठकले प्रचण्डलाई शान्तिप्रक्रिया, काँग्रेस सभापति सुशील कोइरालालाई सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजविनलगायतका आयोग गठन र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई संविधान लेखनका विषयमा रहेको विवादित विषयमा समाधानसहितको प्रस्ताव पेस गर्ने जिम्मेवारी दिएको थियो ।
बैठकमा तीनवटै दलले आ(आफ्नो जिम्मेवारीमा रहेका विषयमा प्रस्ताव पेस गर्ने र ती सबैलाई मिलाएर साझा प्रस्ताव तयार पार्ने विषयमा छलफल हुने बताइए पनि काँग्रेस र एमालेले स्पष्ट प्रस्ताव नल्याएपछि ठोस निर्णय आउन भने नसकेको हो । अर्को बैठक आगामी फागुन १८ गते बस्ने नेताहरुले बताएका छन् ।
बैठकपछि बाहिरिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो जिम्मेवारीमा रहेको विषयमा प्रस्ताव पेस गरेको भए पनि अन्य दलले आन्तरिक गृहकार्य नपुगेको भन्दै प्रस्ताव नल्याएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले दलका नेताहरुले आ(फ्ना तयारीबारे जानकारी गराएको र केही परिमार्जन गरेर १८ गतेको बैठकमा पेस गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।
काँग्रेस सभापति कोइरालाले केही तयारी बाँकी रहेकाले आजको बैठकमा आफ्नो जिम्मेवारीमा परेको विषय पेस नभएको बताउनुभयो । १८ गतेपछि फागुन महिनाभर लगातार छलफल गरी सहमितमा पुग्ने कोइरालाको भनाइ छ ।
केही दिनअघि बसेको तीन दल बैठकले नेपाली सेनाले प्रस्ताव गरेको लडाकु समायोजनसम्बन्धी प्रस्ताव, संविधान लेखनका क्रममा देखिएका विवाद कम गर्ने तथा संयुक्त राष्ट्रिय सरकार गठनको विषयमा सहमति कायम गर्ने जिम्मेवारी शीर्ष नेताहरुलाई दिएको थियो ।
काँगेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकमा माओवादीबाट अध्यक्ष प्रचण्ड, काँग्रेसबाट सभापति कोइराला र एमालेबाट अध्यक्ष झलनाथ खनाल तथा प्रधानमन्त्री डा। बाबुराम भट्टराई सहभागी हुनुहुन्थ्यो ।