नेपाली गीतसंगीतको बजार खस्किँदै गएपनि हप्तामा आधा दर्जन जति एल्बमहरु भने बजारमा आउने क्रम रोकिएको छैन । यही क्रममा गीतकार हेमन्त परदेशी ‘आधा बाटो’ एल्बम मार्फत बजारमा आएका छन् । उनको एकल शब्द समेटिएको एल्बम ‘आधा बाटो’को राष्ट्रकवि माधवप्रसाद घिमिरेले बिमोचन गरेका छन् । कार्यक्रममा बोल्दै राष्ट्रकवि घिमिरेले यो एक उत्कृष्ट एल्बम भएको बताए । एल्बममा समावेश राजेश पायल राईले गाएको ‘धर्ति आकाश जोड्छु…..’ बोलको गीत हरेक तवरबाट राम्रो भएको बताउँदै स्वरुपराको आवाज उत्कृष्ट भएको बताए ।
उनले संगीतकार टीका भण्डारीलाई पनि फुर्काउन भ्याएका थिए । कार्यक्रममा बरिष्ठ गीतकार डक्टर कृष्णहरि बराल, बरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतकार दिपक जंगम, गीतकार किरण खरेल, कलाकार मदनकृष्ण श्रेष्ठको समेत उपस्थिति थियो । आधा बाटो एल्वममा टीका भण्डारीको एकल संगीत रहेको छ । यो एल्बममा स्वरुपराज आचार्य, राजेश पायल राई, निशा देशार, प्रमोद खरेल, अन्जु पन्त, दिपक लिम्बु, प्रविशा अधिकारीको आवाज रहेको छ ।
कार्यक्रममा गायक स्वरुपराज आचार्यले एल्बममा समावेश आधा बाटो बोलको गीत प्रत्यक्ष गाएका समेत थिए । विमोचन कार्यक्रममा एल्वममा समावेश एक गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो । भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । कार्यक्रममा एल्बमसँग आवद्ध व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरीएको थियो । यो एल्बमलाई विन्धवासिनी म्युजिक कम्पनीले जारमा ल्याएको हो ।
‘आधा बाटो’ एल्बममा ८ गीतहरु समावेश गरिएको छ । चिनिया प्रधानमन्त्री बेन जिया बाओको नेपाल भ्रमणको प्रत्यक्ष असर यो कार्यक्रमलाई समेत परेको थियो । कार्यक्रम निर्धारित समयभन्दा एक घन्टा ढिलो शुरु भएको थियो ।