कृष्णा न्याउपाने
दमौली पुस २२ गते ।
तनहुँ जिल्लाभित्र प्रचारप्रसारको अभावमा पछाडि परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक तथा पर्यटकीय सम्भावना बोकेका स्थान तथा सम्पदाहरुको तस्विरका माध्यमद्वारा प्रचार प्रसार गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको ‘तस्बिरमा तनहु’ अभियानको शुक्रबार शुभारम्भ गरिएको छ । फोटो पत्रकार महासंघ नेपाल तनहुँ शाखाले सञ्चालन गर्न उक्त अभियानको शुक्रबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तस्बिर खिची शुभारम्भ गरेका हुन् ।
तनहुँ जिल्लाका ४६ वटै गाउँ विकास समिति र व्यास नगरपालिकाभित्र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेका स्थान तथा सम्पदाहरुको तस्विरका माध्यमद्वारा तनहुँ जिल्लालाई चिनाउने उद्देश्यका साथ ‘तस्विरमा तनहुँ’ अभियान चलाउन लागेको हो । जिल्लाका प्रत्येक गाउँ विकास समिति, पर्यटन विकास समितिका पदाधिकारी एवं स्थानीय बासिन्दाहरुको समन्वयमा त्यस गाविसमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक तथा पर्यटकीय स्थलहरुको खोजी गरी तस्विर मार्फत प्रचार प्रसार गर्ने तथा सबै गाविसहरुबाट तस्विरहरु संकलन पश्चात ‘तस्विरमा तनहुँ’ नामक पुस्तक प्रकाशन गरिने शाखा अध्यक्ष नारायण खड्काले बताए ।