काठमान्डौ पुस २१ गते ।
पटकपटक भएका सहमति र कार्यान्वयनको बारेमा छलफल गर्न सत्तासाझेदार दल एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न्न ४ बजेपछि सुरु हुने बैठकमा सरकार गठनअघि र पछि माओवादी र मोर्चाबीच भएका सहमतिको समीक्षा र कार्यान्वयन प्रक्रियाको बारेमा छलफल हुने मोर्चाले जनाएको छ ।
माओवादी उपाध्यक्ष समेत रहनु भएका डा बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन हुनुअघि भएको ४ बुँदे सहमति कार्यान्वयन नभएकोभन्दै यसअघि पनि मोर्चाले सहमति कार्यानवयनको लागि पटकपटक माओवादीलाई दवाव दिदै आएको थियो । ४ बुँदे लगायत मोर्चासँग भएका सहमति कार्यान्वयन र सरकार सञ्चालनको बारेमा छलफल गर्न प्रधानमन्त्री भट्टरारईले आजको बैठक बोलाउनु भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडलेले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेनामा मधेसी युवाहरुको सहभागिताको बारेमा पनि आजको बैठकमा छलफल हुनेछ । यद्येपी मधेसी युवालाई सामूहिकत रुपमा नेपाली सेनामा प्रवेशको लागि सरकारले नीति पत्र तयार गरेपछि सरकारबाहिरका दल तथा प्रधानसेनापति छत्रमानसिंह गुरुङले समेत असन्तुष्टि जनाउनु भएको थियो । प्रधानमन्त्री भट्टराईले ४ बुँदे सहमति वाध्यतामा गरिएको अभिब्यक्ति दिएको आरोप लगाउँदै यसअघि मोर्चाले सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।