चिनियाँ प्रधानमन्त्री वेन जियावाओको स्वागतको लागि प्रधानमन्त्री डा बाबुराम भट्टराई त्रिभुवन विमानस्थल जानुहुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले चिनिया प्रधानमन्त्रीको स्वागतमा प्रधानमन्त्री भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सभामुख सुवास नेम्वाङ लगायत र परराष्ट्र मन्त्रालयका अधिकारीहरु विमानस्थल जाने निर्णय गरेको हो । यसअघि नेपालमा आउने विदेशी प्रधानन्त्रीलाई परराष्ट्रमन्त्री लगायतका अधिकारीहरुले स्वागत गर्ने कुटनीतिक परम्परा थियो ।
आजको मन्त्रीपरिषद्को बैठकले जियावाओको भेटमा केही आर्थिक सहयोगमा सम्झौता गर्ने निर्णय गरेको भए पनि सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने बैठकले गरेको निर्णय सार्वजनिक नगर्ने सहमति भएको बताउनुभयो । स्रोतका अनुसार जियावाओको भेटमा नेपालले करिब ५ अर्ब रुपैँया थप आर्थिक सहयोग पाउनेछ । अर्थमन्त्री वर्षमान पुनले चीनले गर्ने केही आर्थिक सहयोगमा हस्ताक्षर हुने तर लगानी प्रवद्र्वन (बिप्पा) सम्झौता नहुने मन्त्रीपरिषद्को बैठकपछि जानकारी दिनुभयो ।
यसैबीच चिनियाँ प्रधानमन्त्री करिब १ घण्टा ढिलो अर्थात साढे १२ बजे नेपाल आउनुहुने भएको छ । खराव मौसमका कारण चिनियाँ प्रधानमन्त्री वेन जियावाओ ढिला आउने त्रिभुवन विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ । विमानस्थलबाट चिनिया प्रधानमन्त्री सिधै सिंहदरवार पूर्वि गेटबाट प्रवेश गर्ने कार्यक्रम छ । प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायत प्रमुख दलका शीर्ष नेताहरुलाई सिंहदरवारमा र राष्ट्रपति डा रामबरण यादवलाई शीतल निवासमा जियावाओले भेट्नु हुनेछ । त्यस्तै सरकारी सञ्चार माध्यमका ६ जना प्रतिनीधिलाई मात्र जियावाओको भेट र त्यसक्रममा हुने सहमतिको समाचार संकलनको लागि अनुमति दिइएको छ ।
आजदेखि ३ खाडी मुलुक–साउदी, यूएई र कतारको भ्रमणमा निस्कनु भएका चिनिया प्रधानमन्त्री वेन जियावाओ गन्तव्यमा पुग्नेक्रममा ५ घण्टा नेपालमा उच्चस्तरीय भेटघाट गर्न लाग्नु भएको हो । यसअघि गएको पुस ५ मा चिनियाँ प्रधानमन्त्री वेन जियावाओको नेपाल भ्रमण हुने भनिएकोमा अन्तिम समयमा स्थिगित भएको थियो ।
चीनले आन्तरिक कारण देखाउँदै प्रधानमन्त्रीको नेपाल भ्रमण स्थगित भएको बताएको थियो भने कुटनीतिक मर्यादा विपरित नेपालले भ्रमण तालिका सार्वजनिक गरेको र असुरक्षाको कारण जियावाओको भ्रमण स्थगित भएकोभन्दै बिभिन्न राजनीतिक दल तथा बुद्विजीविहरुले सरकारको आलोचना गरेका थिए ।
त्यस लगत्तै पुस ११ मा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी लगायतका सबै सुरक्षा निकायका उच्च अधिकारीका साथ चीन जानु भएको थियो । गृहमन्त्री गच्छदारको भ्रमण चिनिया प्रधानन्त्रीलाई नेपाल भ्रमणको समयमा हुने सुरक्षा सतर्कता बारे आस्वस्त पार्ने प्रयास भएको टिप्पणी भइरहेको बेला वेन जियावाओको नेपाल भ्रमण हुन लागेको हो ।
वेन जियावाओ दिउँसो ४ बजे कतार प्रस्थान गर्नुहुनेछ ।
चिनियाँ प्रधानन्त्रीको नेपाल भ्रमणलाई ख्याल गरेर राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । खास गरी तिब्बती शरणार्थीहरु र भीक्षुहरुको चहलपहल हुने स्थानमा प्रहरीले निगरानी वढाएको छ । विमानस्थलदेखि तीनकुने, नयाँवानेश्वर, माइतिघर हुँदै सिंहदरवार सम्मको रुटमा नेपाली सेना, सशस्त्र प्रहरी लगायतको उपस्थितिमा छुट्टाछुट्टै ३ ओटा सुरक्षा घेरा बनाइएको छ ।