टीका पुन मगर दक्षिण कोरिया माघ ९ गते ।
कोरियन नया वर्ष सलनालको अवसर पारेर नेपाल गोरखा परिवार, दक्षिण कोरियाले आयोजना गरेको "मनासलु सांगीतिक सौगात" कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। दक्षिण कोरियाको राजधानी सियोलमा सफलतापुर्वक सम्पन्न गरिएको उक्त कार्यक्रममा हास्य कलाकार दिपक राज गिरि, लोक गायक पशुपति शर्मा, लोक गायिका राधिका हमाल, छमछमी स्टार पुर्णिमा श्रेष्ठ लगायत दक्षिण कोरियामा रहेका स्थानीय कलाकारहरुले दर्शकहरुलाई भरपूर मनोरन्जन दिएका थिए। कार्यक्रमका प्रमुख आकर्षण मानिएका तेश्रो इन्डियन आइडल प्रशान्त तामाङलाइ विभिन्न कारण देखाउदै पूर्वाग्रही ढंगले भारतस्थित कोरियन दुतावासले भिषा उपलब्ध नगराए पछी उपस्थित हुन् सकेनन। तर प्रशान्त तामाङको उपस्थिति बिना पनि कार्यक्रम सफलतापुर्वक भब्य रुपमा सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका कार्यवाहक राजदूत राजाराम वर्तौला, विषेश अतिथी नेपाली संम्पर्क समितिका अध्यक्ष शंकर बस्नेत, एनआर एन कोरियाका अध्यक्ष केपी सिटौला तथा गोरखा परिवारका अध्यक्ष चेत बाहादूर बस्नेतले पानसमा दियो प्रज्वलन गरि संयुक्तरुपमा कार्यक्रमको उदघाटन गरेका थिए। उदघाटन पछी कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि लगायत कोरियास्थित नेपालीहरुका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पनि मन्तव्य राखेका थिए। कार्यक्रममा चितवन सम्पर्क समितिले छमछमी स्टार पूर्णिमा श्रेष्ठ, स्याङ्जा परिवारले गायक पशुपति शर्मा, तथा रुपन्देही सम्पर्क समितिले छाविय चिब आमालाई गौतम बुद्ध पुरस्कारद्धारा सम्मान गरेका थिए । यसैगरी नेपाल मगर संघले नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियालाई अत्यन्त पिछडिएका दूर्गम जिल्लाका विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि १६ लाख कोरियन वन तथा महिला आवाश गृह निर्माणका लागि १० लाख कोरियन वन सहयोग प्रदान गरेको थियो। त्यस्तै आकस्मिक दुर्घटना तथा राहत कोष स्थापना गर्नको लागी लमजुङ परिवार दक्षिण कोरियाको भाग्यशाली चिठ्ठा पनि खोलिएको थियो। यसै विच "असहाय तथा द्धन्द्ध पिडित वालवालिकाहरुका लागि शिक्षा" भन्ने मूल उदेश्यका साथ आयोजना गरेको "मनासलु सांगीतिक सौगात" कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुने कोरियास्थित नेपालीका विभिन्न संघ संस्थाहरु,पत्रकारहरु लगायत आ-आफ्नो तर्फबाट कार्यक्रमलाई सफल पार्न योगदान दिनुहुने सबैलाई गोरखा परिवार, दक्षिण कोरियाले हार्दिक आभार प्रकट गरेको छ।