काठमाडौ, माघ ९ - प्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई गतिरोध फुकाउन सहयोग गर्न आग्रह गरेका छन् । सोमबार कोइराला निवास महाराजगंज पुगेर भट्टराईले समस्याको समाधानका लागि छलफल र सम्वादका लागि आग्रह गरेका हुन् ।
सरकारले कथित 'जनसत्ता' को निर्णयलाई वैद्यता प्रदान गर्ने गरेको निर्णय पछि प्रतिपक्षी कांग्रेस र एमाले सरकारसंग वार्तामा वस्न मानेका छैनन भने लगातार संसद अवरुद्ध गरिरहेका छन् ।
गतिरोध बढेपछि प्रधानमन्त्री भट्टराईले नेताहरुसंग भेटवार्ता सुरु गरेका छन् । उनले आइतबार कोइरालासंग टेलिफोन वार्ता समेत गरेका थिए ।
भेटमा प्रधानमन्त्रीले समस्याको समाधान खोजेर शान्ति प्रक्रियालाई मद्दत पुग्ने गरी सहमतिमा अगाडि बढ्न चाहेको कोइरालासंग आग्रह गरेका थिए । विश्वासको वातावरण बनाएर यही सरकारलाई राष्ट्रिय सरकार बनाए शान्ति प्रक्रियामा सहज हुनेमा प्रधानमन्त्रीको जोड रहेको थियो ।
कोइरालाले शान्ति प्रक्रिया अगाडि नबढाएको तथा 'जनसत्ता'को निर्णयलाई वैधता दिन खोजेकोप्रति प्रधानमन्त्रीसंग आपत्ति जनाएका थिए । प्रमुख दलका उच्च तहमा छिटै छलफल गरेर समस्या समाधानका लागि अगाडि बढ्ने दुई नेताबीच सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले बताए ।साभार :ईकान्तिपुर