बर्दिबास पुस २४ गते ।
महोत्तरीको बसपिट्टी गाविसका सचिव अलाउद्दिन अन्सारीलाई हत्या गरेर फरार भएका एक जनालाई प्रहीले पक्राउ गरेको छ । भारत विहारको सितामढी जिल्ला घर भएका ३० वर्षीय इन्द्रजित पासवानलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक केदार खनालले वताउनु भयो ।
गाबिस सचिव अन्सारी ०६४ पुस २६ गते कार्यालयको काम सकेर घर फर्कदै गर्दा सिमरदही गाविस–९ बाट अपहरणमा परेका थिए ।
अन्सारीलाई अपहरणकारीहरुले पाँच लाख फिरौती माँग गरेको र सो तिर्न नसक्दा हत्या गरिएको अवस्थामा २०६४ माघ ३ गते खैरबन्नी –८ स्थित नेपाल भारत वोर्डरमा उनको शव फेला परेको थियो ।
सोही घटनामा संलग्न रहेकी हलखोरी –५ की रामशिलादेवी यादवले अपहरण तथा कर्तब्यज्यान मुद्दा अन्तर्गत २० वर्ष कैदको सजाय भोगिरहेकी छिन ।