दोलखा पुस २४ गते ।
दोलखाको किर्नेटारमा रहेको खिम्ती १ जलविद्युत आयोजनाका मजदुरहरु पुर्नवाहलीको माग राख्दै आन्दोलनमा उत्रेपछि आयोजनाले आपतकालीन अवस्था घोषणा गरी विद्युत उत्पादन गर्दै आएको छ । गत मंसिर २९ गतेबाट आयोजनामा कार्यरत ८९ जना स्थायी कामदारलाई एक्कासी अवकास दिए पछि मजदुरहरु आन्दोलनमा उत्रेका हुन् ।
आयोजनाले मजदुरहरुको समस्या समाधान गर्न भन्दा आपतकालीन अवस्था घोषणा गरी विद्युत उत्पादन गरेको भन्दै स्थानीय राजनीतिक दलहरुले भने त्यसको विरोध गरेका छन् । आयोजनाको गेटमा मजदुरहरु धर्ना र अनसन बस्न सुरु गरेपछि आयोजनाले ८ जना प्राविधिकलाई सुरुङ भित्रै राखेर आपतकालिन विद्युत उत्पादन सुरु गरेकोे हो । आयोजनाको कुल क्षमता ६० मेगावाट भएपनि अहिले आयोजनाले हाल सुख्खा मौसमका कारण ३० मेगावाट मात्र विद्युत उत्पादन गर्दै आएको छ । नर्वे सरकारको लगानीमा सञ्चालित आयोजनाको प्रर्वद्धक कम्पनी हिमाल पावर लिमिटेडले अवधि सकिएको भन्दै अवकास दिए पछि मजदुरहरुले २४ दिन देखी आन्दोलन जारी राखेका छन् । मजदुरहरुले रिले अनसन सुरु गरेको आज १५ दिन पुगेको छ ।