चन्द्रश्वर बस्ताकोटी
जोमसोम, पुस १८ गते ।
हिमाली जिल्लामा परेको हिमपात पछि किसानहरुमा खुसीको लहर छाएको छ । आइतबार दिउसो देखि परेको हिमपात र बर्षाले सिचाईको काम हुने र बालीनाली सप्रने भएकाले खुसी भएका हुन ।
हिमपातका कारण जनजिवन सामान्य प्रभाबित बनेको छ । स्याउको राजधानीका रुपमा चिनिने मुस्ताङमा परेको हिउपातका कारण सबै भन्दा बढि स्याउ किसानलाई फाइदा पुग्ने भएको छ । गत बर्ष जस्तै यो बर्ष पनि समयमै हिमपात भएकाले खेतीपाती र स्याउ राम्रो हुने बिश्वास लिएको कागबेनीका किसान रिनजिन नामग्याल गुरुङले बताउनु भयो । हिमपातका कारण सिचाई अभाब नहुने र खेतीबाली सप्रने जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका बरिष्ठ कृषि बिकाश अधिकृत मेघनाथ तिमिल्सीनाले बताउनुभयो ।
हिमपात पछि मुस्ताङका सबै भुभाग सेताम्मे हुदा अत्यन्तै सुन्दर देखिएको छ भने तापक्रम अन्य दिनको भन्दा तल नझरेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका प्रशासन सहायक आनन्द सुबेदीले बताउनु भयो । केहि दिन पहिले माइनस ५डिग्री सेल्सीयस सम्म पुगे पनि सोमबार बिहान भने न्युनतम माइनस १ डिग्री सेल्सीयस र अधिकतम ५ डिग्री सेल्सीयस सदरमुकाम जोमसोममा रहेको छ । उपल्लो मुस्ताङमा केहि दिन पहिले न्युनतम माइननस ११ डिग्री सम्म पुगेको थियो । चिसो बढेपछि १ महिना यता अधिकास मानीस बेसी झरेकाले मुस्ताङ अहिले सुनसान जस्तै भएको छ ।
जिल्लाका १६ बटै गाबिसमा हिमपात भएको र लोमन्थाङमा २० सेन्टीमीटर हिमपात भएको अन्नपुर्ण संरक्षण क्षेत्रआयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङका प्रमुख निरञ्जन ढुगांनाले बताउनु भयो ।
सदरमुकाम जोमसोममा करिब आधा फिट हिमपात भएपनि बिहानै देखि मौसम सफा भएकाले खासै जम्ने गरी हिउ नरहेको जोमसोमका स्थानिय बासीन्दा दिनेश थकाली बताउनु हुन्छ । मुक्तिनाथ, चराङ, छोसेर, छोण्हुप लगाएतका ठाउमा भने प्रसस्त हिउ जमेको छ । हिमपातका कारण कतैपनि क्षति नभएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।