सुमन बैरागी
काठमाडौँ, माघ ११ गते ।
भारतको ६३ औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मानव विकास एवम् मैत्री सङ्घ काठमाडौँ–खोटाङ सम्पर्क समितिद्वारा आज यहाँ विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरियो ।
सो कार्यक्रमको उद्घाटन गर्दै भारत मध्य प्रदेशका पूर्वमन्त्री नरेन्द्र नाहाटाले नेपाल र भारतबीच प्राचीनकालदेखि नै घनिष्ट सम्बन्ध रहिआएको चर्चा गर्नुभयो । उहाँले नेपालमा पनि गणतन्त्र स्थापना भएकाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा भारतको सहयोग हुनुपर्ने धारणा राख्नुभयो ।
सङ्घका अध्यक्ष सूर्य भूसालले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन सङ्घले विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो । कार्यक्रममा रामकृष्ण ढकाललगायतका कलाकारहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।