Responsive Ad Slot

latest

दुतावासमा अस्थायी कर्मचारी नियुक्तिको लागि एनआरएएन कतारको समन्वयमा अनौपचारिक कार्यक्रम सहित सहयोग रकम संकलन I

Friday, January 20

/ by Admin BHOLA THAPA


रवि रोषी / दोहा 
नेपाली राजदुतावास दोहा कतारको परिसरमा गत आइतवार साँझ एनआरएन कतारको समन्वयमा अनौपचारिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदुतावासका महामहिम राजदुत डा. सुर्यनाथ मिश्रले अनिवार्य भिषा अनुप्रमाणन कार्यले गर्दा दुतावासमा कामको चापमा बृद्धि भएको जानकारी गराए । दुतावासबाट अनिवार्य भिषा अनुप्रमाणनको नीति लागू हुनु पूर्व दैनिक ८० हजार नेपालीको हाराहारीमा मात्र राजस्व उठ्ने गरेको र हालमा आएर दैनिक ४ लाखको हाराहारीमा राजस्व संकलन हुने गरेको जानकारी गराए । नेपाल स्थित सम्बन्धित निकायमा दुतावासमा सिर्जित बिद्यमान कामको चापको बारेमा जानकारी गराई २ कर्मचारीको दरबन्दी माग गरी २ , २ पटक पत्राचार गर्दा पनि कुनै पनि जवाफ नआएको र अत्याधिक चापको कारणले दुतावासमा उचित समयमा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न नसक्दा आएको समस्यालाई न्युनीकरण गर्न दैनिक ज्यालादारीको रुपमा २ जना कर्मचारी राख्न अनुमति माग्दा पनि जवाफ नआएपछि एनआरएनको पहलमा सवै संघसंस्थाहरुलाई समेटी समस्या सुल्झाउन विकल्पको खोजी गरेका हौँ राजदुतले बताए ।

२०११ मई देखि दुतावासबाट अनिवार्य श्रम स्वीकृति लिनुपर्ने र भिसा अनुप्रमाणन गर्ने नीति कार्यान्वयनमा आएपनि त्यति प्रभावकारी नभएको बताउँदै प्रधानमन्त्री डा.बाबुराम भट्टराई न्युयोर्कको भ्रमण सकेर नेपाल फर्कदै गर्दा दोहाको १ दिने ट्रान्जिट समयमा कतारका सवे समुदाय बीच यहि मुद्यामा गहन छलफल भएको पनि स्मरण गराए । गैर आवासीय नेपाली संघको सुरक्षित आप्रवासन र सामूहिक लगानीको नाराको कदर गर्दै एनआरएनको विशेष पहलमा कतारका सवै संघ संस्थासंग हातेमालो गर्दै सहयोगको अपेक्षा गरेको बताए । नीति कार्यान्वयनमा आएपछि प्रकृयागत ढंगबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न नसकेको कर्मचारीको अभावले गर्दा नै भएको भन्दै कामको चापको कारणले गर्दा रोजगारदातालाई पर्न गएको असुविधा प्रति तुरुन्त सम्बोधन गरिनु पर्ने पनि बताए । 
उक्त अनौपचारिक कार्यक्रममा कतार स्थित विभिन्न संघ, संस्था, व्यवशायी तथा समाजसेवीहरुबाट महामहिम राजदुत डा. सुर्यनाथ मिश्रले राय लिनेक्रममा केहि बक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए । दुतावासको कार्यशैलीमा बैज्ञानिकीकरण गर्नुपर्ने बताउँदै टोकन दिने कार्य लगायत अन्य कार्यको लागि प्रविधी प्रयोग गरेमा जनशक्तिको अभाव नखट्किने बताउँदै यदि कल्याणकारी कोषलाई दुतावासले सकारात्मक रुपमा लिईदिएको भए यस्ता समस्या आईहालेपनि तुरुन्त निराकरण गर्न सकिन्थ्यो भन्दै कल्याणकारी कोषलाई दुतावासले निरन्तरता देओस् भन्ने माग पनि राखेका थिए । 
दुतावासमा बढेको कामको चाप र सेवाग्राहीलाई सही समयमा सेवा प्रदान गर्न नसक्दा नेपाली दुतावासको छविमा नकारात्मक प्रभाव पर्न जाने देखिएकोले राज्यले दुतावासमा कर्मचारीको दरबन्दी नतोकेसम्म घटिमा ३ महिना देखि ६ महिना सम्मको लागि अस्थायी रुपमा कर्मचारी राखि २ जना कर्मचारीको तलव भरणपोषणमा आफुले समन्वयकारी भूमिका खेल्न तयार रहेको  गैर आवासीय नेपाली संघ दोहाका अध्यक्ष अमृत गुरुङले बताए ।
दैनिक ज्यालादारी तथा अस्थायी रुपमा कर्मचारी राख्ने अभियानलाई सवैले सहर्षताका साथ सहमति जनाएपछि व्यवशायी आर के शर्माले एक जना कर्मचारीको तलव भरणपोषण बापत ६ महिना देखि ९ महिना सम्म लाग्ने तलव भुत्तानी गर्न आफु मञ्जुर भएको समाचार प्राप्त भएको छ भने व्यवशायी तथा समाजसेवी कोमलसिंहले २५०० रियाल नगद प्रदान गरिसकेका छन् । त्यस्तै गरी व्यवशायी भूपति भट्टराई १००१, एनआरएन आईसीसीका सचिव टिबी कार्की १००० र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष दीपक भेटवालले नगद ५०० एनआरएनका सचिव मार्फत हस्तान्तरण गरिसकेका छन् । त्यस्तै गरी संस्थागतरुपमा सहयोग गर्ने अन्यहरुमा प्रवासी झापाली सम्पर्क मञ्चबाट २०००, जनप्रगतीशील मञ्चबाट १०००, नेपाल लोकतान्त्रिक मञ्चबाट १०००, प्रवासी नेपाली मुस्लिम सेवा समाज १०००, स्यांग्जा सहयोग समाजबाट १००१, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, ९००, नेपाली जनसम्पर्क समिती ५०१, नेपाल प्रवासी जातिय भेदभाव उन्मुलून सेवा समिती ५०१, मोरङ सुनसरी सेवा समाज ५०१, चितवन युवा सेवा समाजबाट ५०१, खोटाङ सेवा समाजबाट ५०१, किराँत प्रवासी राष्ट्रिय मञ्च ३०२, उदयपुर सेवा समाज २४०, सिराहा सेवा समिती २११, पाँचथर सेवा समाज २११, गोरखा सेवा समाज २०१, प्युठान सेवा समाज २०१, पाल्पा सेवा समाज २०० र श्रमिक रेमिट एण्ड कम्पनीबाट २०० रियाल गरी कुल १६६६७ कतारी रियाल मध्येबाट १०८५४ कतारी रियाल नगद संकलन कार्यक्रम स्थलमा नै भईसकेको छ भने ५८१३ उठ्न बाँकी रहेको छ । 
दुतावासमा सिर्जित समस्यालाई दीर्घकालिन समाधानका लागि नेपाल सरकार समक्ष दवाव दिन १५ सदस्यीय दवाव समितीको गठन पनि गरिएको थियो भने अन्त्यमा उक्त अभियानमा सहयोग पुर्याउने सवै संघ संस्था तथा समाजसेवीलाई राजदुत मिश्र तथा गैर आवासीय नेपाली संघ दोहा को अध्यक्ष अमृत गुरुङले धन्यवाद दिएका थिए । 


Don't Miss
© all rights reserved
made with by netKUTI