Responsive Ad Slot

latest

समयमा संविधान नबने जोखिम हुन्छ: राष्ट्रपति I

Monday, January 16

/ by Admin BHOLA THAPA

कुलचन्द्र न्यौपाने
काठमाडौ, माघ २ -राष्ट्रपति रामवरण यादवले शान्ति प्रक्रिया र संविधान निर्माणलाई प्राथमिकताको पहिलो सूचीमा राख्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । केही दिनयता यी दुवै प्रक्रिया रोकिएकामा चिन्ता व्यक्त गर्दै उनले जेठ १४ भित्र 'लोकतान्त्रिक गणतन्त्रात्मक संविधान' जारी गर्न नसके जोखिम उत्पन्न हुनेसमेत बताए । तर कस्तो जोखिम भन्नेबारे उनले खुलाएनन् ।

'अबको साढे ४ महिनामा शान्ति प्रक्रिया टुंग्याएर संविधान जारी गर्न नसके जनतामा निराशा छाउने छ, जसले जोखिमपूर्ण अवस्था निर्माण गर्नेछ,' मकर संक्रान्तिका अवसरमा शीतलनिवासमा आयोजित दिवाभोजमा राष्ट्रपति यादवले भने, 'हामी जे गरिरहेका छौं, त्यसको जनताले एकएक रेकर्ड राखेर बसेका छन् । जनताका नजरमा हाम्रो कुनै पनि क्रियाकलाप छिपेको छैन । जनताप्रतिको आफ्नो दायित्व र जिम्मेवारीलाई हृदयंगम गरेर शान्ति र संविधानलाई पहिलो कार्यसूचीमा राखी काम गर्नुहोस् ।'

शान्ति प्रक्रिया र संविधान निर्माणलाई एक नम्बरको कार्यसूचीमा राख्नुपर्ने आग्रह आफू र नेपाली जनताको मात्रै नभएर छिमेकी र अन्य अन्तर्राष्ट्रिय समुदायले समेत भन्दै आएको यादवले औंल्याए ।

'छिमेकी र अन्तर्राष्ट्रिय समुदायले पहिलो काम शान्ति प्रक्रिया र संविधान निर्माण हो भनेका छन्, हिजै चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले समेत पहिला शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंग्याउनुहोस्, विकासका लागि सहयोग गर्न तयार छौं भन्नुभयो,' राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भोजमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले भने ।

माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले अन्य दललाई समेत विश्वासमा लिएर रोकिएको शान्ति प्रक्रिया र संविधान निर्माणलाई अघि बढाउन राष्ट्रपतिले पटक-पटक आग्रह गरे । केही समय शान्ति प्रक्रिया र संविधान निर्माणले गति लिँदा आशा पलाएको स्मरण गर्दै उनले त्यसलाई निराशामा परिणत गर्न नहुने बताए ।

प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपतिले जनताका प्रतिनिधिबाट संविधान बनाउने झन्डै सत्तरी वर्षदेखिको अधुरो काम अहिलेको राजनीतिक नेतृत्वले पूरा गर्नुपर्ने भनाइ राखेका थिए । 'संविधानसभाबाट संविधान निर्माण गर्ने सत्तरी वर्षदेखिको संघर्षलाई सफल तुल्याउने र सम्पूर्ण श्रेय लिने अवसर अहिलेको राजनीतिक नेतृत्वलाई प्राप्त छ,' राष्ट्रपतिको भनाइ उद्धृत गर्दै दाहालले भने, 'त्यो श्रेय लिने र सफल तुल्याउने अवधि साढे चार महिना मात्रै बाँकी छ । यो अवधिलाई अहिलेको नेतृत्वले महत्त्वपूर्ण र ऐतिहासिक सावित गराउनुपर्छ ।'

राष्ट्रपति यादवले संविधान बनेर मात्र नहुने भन्दै लोकतान्त्रिक हुनुपर्नेमा समेत जोड दिए । 'संविधानमा हिमाल, पहाड र मधेस सबैको अनुहार झल्किने हुनुपर्छ, कसैले आफू बाहिर परेको अनुभव गर्ने खालको बन्यो भने त्यसले मुलुकलाई जोखिमतिर धकेल्छ,' राष्ट्रपतिको भनाइ थियो, 'म राष्ट्राध्यक्षका हैसियतले समयमै संविधान बनाएर जोखिमबाट बचाउन सबै राजनीतिक दलका नेताहरूलाई आग्रह गर्छु ।' राष्ट्रपतिले गत वर्षदेखि मकर संक्रान्ति पर्वलाई सबै राजनीतिक दलका शीर्ष नेताहरूसँग शुभकामना आदानप्रदान गरी अनौपचारिक छलफल गर्ने माध्यम बनाएका छन् । त्यस अवसरमा राष्ट्रपति निवासमा दिवाभोजसमेत आयोजना गरिन्छ । भोजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताको उपस्थिति थियो । साभार ः ईकान्तिपुर डट कम
Don't Miss
© all rights reserved
made with by netKUTI