तनहु खबर संवाददाता
तनहँु, माघ ६ गते ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाको सातौ अधिवेशन शुक्रबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शाखाको उपाध्यक्षमा नारायण खड्का, सचिवमा तेजप्रसाद वाग्ले, सह–सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण न्यौपाने र सदस्यहरुमा रविना ढकाल, कमल ढकाल, ऋषिकान्त दुवाडी सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गगन विष्टले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भैसक्दापनि अझै पत्रकारहरु असुरक्षित बनिरहेको बताए । समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने हत्या, हिंसा, आक्रमण र धम्कीले प्रेस स्वतन्त्रता कुण्ठित बन्दै गएको उनको भनाई थियो । विष्टले समयमै संविधान निर्माण गरी पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिनुपर्ने बताए । उनले सरकारले विदेशी दातृ संस्थालाई सञ्चार नीति ड्राफ्ट गर्न दिएको प्रति विरोध गर्दै तुरुन्त रोक्न माग गरे ।

कार्यक्रममा प्रेस चौतारी नेपालले स्थापना गरेको गोकुल–अग्निशिखा स्मृति प्रतिष्ठानले जिल्लाका तीन जनालाई विभिन्न क्षेत्रमा योगदान पु¥याए बापत सम्मान गरेको छ । प्रतिष्ठानले साहित्य र धार्मिक पर्यटनको क्षेत्रमा जिल्लालाई चिनाउन अमुल्य योगदान दिएकोमा साहित्यकार तथा व्यासका अध्येता काशीनाथ न्यौपाने, महिला तथा बालबालिकाको हिंशा विरुद्ध सक्रिय रुपमा योगदान पु¥याएकोमा मादीगंगा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कला पुन र जातीय विभेद विरुद्धको आन्दोलनमा योगदान पु¥याउने संयुक्त दलित उत्थान मञ्चका अध्यक्ष रामलिला सुवर्णकारलाई सम्मान गरेको हो ।
यसैबीच न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा लागु गरिएको पारिश्रमिक लागु गर्नुपर्ने, पूर्ण प्रेस स्वतन्त्रता सहितको नयाँ संविधान समयमै जारी गर्नुपर्ने, प्रस्तावित सञ्चार नीति दातृ निकायलाई ड्राफ्ट गर्न दिइएको सम्बन्धमा खेद प्रकट गर्दै त्यसलाई तत्काल खारेज गर्नुपर्ने, मोफसलका पत्रपत्रिकालाई समानुपातिक विज्ञापन वितरण प्रणाली लागु गर्नुपर्ने चौतारीले माग गरेको छ ।
कार्यक्रमकै अवसरमा प्रेस चौतारी तनहुँले पत्रकारिता पुरस्कार घोषणा गरेको छ । १ लाख रुपैयाँ अक्षयकोष रहने सो पुरस्कारबाट प्रत्येक वर्ष एक जना जिल्लामा क्रियाशिल पत्रकारलाई पुरस्कृत गरिने चौतारीका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताए ।