नवलपरासी, माघ ९ गते । पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोधमा आन्दोलनरत १३ विद्यार्थी संगठनको आव्हानमा आज तराईका तीन जिल्ला बन्द गरिएको छ । पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै विभिन्न संगठनको आह्वानमा रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्ला बन्द छन् । बन्दका कारण पुर्व पश्चिम र सिद्धार्थ राजमार्गमा मोटरगाडी ठप्प छन् ।
वुटवल, भैरहवा , तौलीहवा, परासी लगायतका बजार वन्द छन । शिक्षण संस्था तथा उद्योग कलकारखाना सञ्चालनमा छैनन । बन्दका कारण विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीहरुले मुल्यवृद्धि फिर्ता गरि ग्यास र मट्टितेलमा ५० प्रतिशत सहुलियत र राशन कार्डको व्यवस्था गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ९ रुपैँया र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर १ सय ७५ रुपैँया बढाएपछि यसको चर्को आलोचना भएको छ ।