Responsive Ad Slot

latest

'पार्टीले भने प्रधानमन्त्री छाड्छु' I

Friday, January 20

/ by Admin BHOLA THAPA
काठमाडौ, माघ ६  गते ।

प्रधानमन्त्री बाबुराम भट्टराईले आफू पार्टीको निर्णयअनुसार प्रधानमन्त्री भएको उल्लेख गर्दै पार्टीले बोलाए फिर्ता हुन तयार रहेको बताएका छन् । ललितपुरको बालकुमारीस्थित खन्ना गार्मेन्टमा बिहीबार नेवाः र ताम्सालिङ राज्य समितिको प्रशिक्षणमा उनले 'आफूले पार्टीको सिपाही भएर सरकारको मोर्चा सम्हालेको' उल्लेख गर्दै फिर्ता हुन समेत तयार रहेको बताएका हुन् । 'पार्टीकै निर्णयअनुसार पार्टीको सिपाही भएर सरकारको मोर्चा सम्हालेको छु,' भट्टराईको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, 'पार्टीले भनेमा सरकारबाट फर्किन्छु ।' उपाध्यक्ष मोहन वैद्य पक्षद्वारा सरकार विरोधी स्वर कम हुँदै गएका बेला भट्टराई पार्टीको निर्णय मान्ने बताएका हुन् । उनले घुमाउरो भाषामा वैद्य पक्षलाई सरकारमा आउन आग्रह समेत गरे । 'किरण पक्षबाट सरकारमा सहभागी नहुँदा खल्लो महसुस भएको छ,' उनको भनाइ थियो, 'जसका कारण सरकारको मोर्चा त्यति प्रभावकारी हुन सकेको छैन ।' शान्ति र संविधानको विकल्प नभएको भन्दै जनमुखी संविधान र सम्मानजनक शान्ति प्रक्रिया अघि बढ्न पार्टी एकताले बल पुर्‍याएको पनि उनले जनाए । 

केन्द्रीय समिति विवाद मिलेपछि भएको संंयुक्त प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई फुट्नबाट जोगाउन धौधौ भएको उल्लेख गरे । 'प्रतिक्रियावादीहरूको पार्टी फुटेको हेर्ने चाहना चकनाचुर भएको छ, यसको अर्थ पार्टी पूर्णरूपमा मिलिसकेको भन्ने होइन । 

कार्यदिशामा अहिले पनि फरक मत छ र त्यसलाई तलैसम्म छलफलमा लगेका छौं,' उनले भने, 'हामीबीच नयाँ एकता भएको छ ।' उनले पार्टीको कार्यदिशामा अल्पमत/बहुमत नगरी नयाँ विधि प्रयोग भएको बताए । 'यो नयाँ विधिअनुसार जानकारी दिएर विरोध गर्न पाइनेछ,' उनले भने । पार्टीमा दुवै पक्षबाट कमजोरी भएको उल्लेख गर्दै 'तर पार्टी मरेको भन्न नसुहाउने' बताए । '

एक-अर्कालाई धेरै खेद्न हुँदैन, पार्टी नमर्दै मर्‍यो भनेर घोषणा पनि गर्न हुन्न,' उनले थपे, 'अध्यक्षका कमीकमजोरी होलान् तर सबै सिद्धियो भन्नु हुँदैन । हामी कोही पनि मरेका छैनौं ।' स्वतन्त्रता हुँदैमा पार्टी नफुट्ने भन्दै उनले सम्बन्ध विच्छेदको स्वतन्त्रता भए पनि पारपाचुके नहुने जनाए । दाहालले शान्ति र संविधानमा षड्यन्त्र भए पार्टी विद्रोहमा जाने बताए । 

 करिब साढे पाँच सय नेता तथा कार्यकर्ता सहभागी कार्यक्रममा उपाध्यक्ष वैद्यले दाहाललाई विश्वकै कम्युनिस्ट नेता हुन सुझाव दिए । 'अध्यक्ष प्रचण्ड राजनेताभन्दा विश्वको सर्वहारा नेता बन्नुपर्छ,' उनले आफ्नो कार्यदिशामा आउन आग्रह गर्दै भने, 'कम्युनिस्ट पार्टीभित्र विचार मुख्य हो, यसलाई छोड्दै गए हामी सफल हुन सक्दैनौं ।' उनले जनमुखी संविधान र सम्मानजनक शान्ति प्रक्रिया नभए जनविद्रोहबाहेक विकल्प नरहने बताए । 

'हामीबाट कमजोरी भएकै हो, यो एकताका लागि अध्यक्षको महत्त्वपूर्ण योगदान रहेको छ,' उनले भने, 'सबैले जितेका छौं, गर्व गर्नुपर्छ ।' प्रशिक्षणमा नेताहरूले एक-अर्काको आलोचना गरेनन् । बरु, उनीहरूले विचार नमिले पनि एकता भएकोमा सन्तोष व्यक्त गरे । साभारः इकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI