काठमान्डौ पुस २८ गते ।
नदी किनारमा वसोवास गरेका सुकुम्वासीलाई हटाउने सरकारी निर्णयको विरोधमा सुकुम्वासीहरुले आज छैटौं दिन पनि संघर्षका कार्यक्रम जारी राखेका छन् । उनीहरूले उपत्यकाका ६६ सुकुम्बासी वस्तीमा जागरण अभियान सहित प्रशिक्षण कार्यक्रम आज पनि गरिरहेका छन् ।
सुकुम्बासी मोर्चा नेपालका उपाध्यक्ष नारायण परिश्रमीले सुकुम्बासीहरूको हकअधिकार प्रष्ट पार्न बस्तीहरूमा प्रशिक्षण अभियान जारी राखेको बताएका छन । सरकारले सुकुम्बासीहरूका कारण राजधानीका सहर फोहोर भएको भन्दै, नदीकिनारामा बसोबास गर्दै आएका सुकुम्बासी हटाएर सुन्दर सहर बनाउने अभियान सुरु गरेको छ ।
सरकारको यस्तो निर्णयप्रति गएको शनिवारदेखि सुकुम्बासीहरूले आन्दोलन गर्दै आएका हुन् । राजधानीमा करिब ७० रोपनी जग्गामा ५० हजार सुकुम्बासी बसोबास गर्दै आएको दावी गरिएको छ ।यसैबीच सुकुम्बासीहरुको माग र सरकारको निर्णयको बारेमा आज छलफल हुदैछ । दिउँसो हुने छलफलमा सुकुम्बासीको समस्या र सरकारको अभियानको बारेमा कुराकानी हुने बताइएको छ