काठमाडौ, पुस २० - प्रधानमन्त्री डा बाबुराम भट्टराईले अनेरास्ववियु(क्रान्तिकारी)ले प्रस्तुत गरेका साठीबुँदे माग पुरा गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । माग पुरा गर्न आफ्नै सल्लाहकार देवेन्द्र पौडेलको संयोजकत्वमा कार्यदलसमेत गठन गरेका छन् ।
क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माको नेतृत्व गरेको प्रतिनिधिमण्डलसँग बुधबार प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीले विद्यार्थीका जायज माग पुरा गर्न पौडेलको संयोजकत्वमा दस सदस्यीय कार्यदल समेत गठन गर्न निर्देशन दिएका हुन् ।
कार्यदलमा क्रान्तिकारीसँग सम्बद्ध पाँच विद्यार्थी तथा अर्थ, श्रम तथा यातायात व्यवस्था, शिक्षा र आपूर्ति मन्त्रालयका सहसचिव सदस्य तोकिएको जानकारी शिक्षामन्त्री दीनानाथ शर्माले दिए ।
मन्त्री शर्माका अनुसार रासन कार्ड निर्देशिका एक महिनाभित्र जारी गर्ने सहमति पनि भएको छ । रासन कार्ड वितरणबाट विद्यार्थीलाई मट्टीतेल, ग्यास र खाद्यान्न जस्ता दैनिक उपभोग्य सामग्री प्राप्तिमा सहजता हुनेछ ।
–रासस