रवि रोषी दोहा
राष्ट्रव्यापी मनाऔँ ल्होछार पर्व , नेपाल भनी गरौँ गर्व भन्ने नाराको साथ आयोजित २८४८ औँ सोनाम डुक ल्होछार कार्यक्रम गत जनवरी २० मा दोहाको गल्फ प्याराडाईज होटलमा सम्पन्न भएको छ । नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथीको आतिथ्य कतारका लागि नेपाली राजदुत महामहिम राजदुत डा. सुर्यनाथ मिश्रले गरेका थिए ।
विशेष अतिथीहरुमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष मान बहादुर साँवा लिम्बुको उपस्थिती रहेको थियो भने अन्य अतिथीहरुमा प्रवासी मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलम, थारु कल्याणकारी सभाका अध्यक्ष ईन्जिनीयर बिद्यानन्द चौधरी, व्यवशायी बद्रि प्रसाद पाण्डे, डा. देवकाजी डंगोल, इन्जीनियर राजीव डंगोल, हिमाल गिरी, भिम घले, राम कुमार श्रेष्ठ तथा विभिन्न देशका प्राज्ञ व्यत्तित्वहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य समाजका द्धितिय उपाध्यक्ष रमी तामाङले गरेकी थिईन् ।
राष्ट्रव्यापी मनाऔँ ल्होछार पर्व , नेपाल भनी गरौँ गर्व भन्ने नारा अंकित व्यानर अनावरण गर्नुको साथै पानसमा दीप प्रज्वलन गरी महामहिम राजदुत डा. मिश्रले समुद्घाटन गरेका थिए । ल्होछारको रीत अनुसार झाँकी प्रदर्शनको साथै सगुन पोङ, सोली, नेपाली झण्डा, बुद्धको झण्डा, बोन्वो झाँक्रीको, ताम्वा (डम्फुरे) प्रदर्शनी लगायत उपस्थित लामाहरुले आफ्नो पुर्वजको परम्परालाई दर्शक माझ आकर्षकीय शैलीमा प्रस्तुत गरेका थिए ।
२८४८ औँ ल्होछार गेताङका संयोजक तथा समाजका सह कोषाध्यक्ष रोशन दोङ तामाङको शुभकामना मन्तव्य पछि विशेष अतिथी तथा नेपाल प्रवासी आदिवासी जनजाति महासंघको अध्यक्ष मान बहादुर साँवा लिम्बुले प्रमुख अतिथी डा. सुर्यनाथ मिश्रलाई खादा ओढाएर सम्मान गरेका थिए भने प्रमुख सल्लाहकार सुक बहादुर तामाङ तथा समाजका अध्यक्ष शंखलाल तामाङबाट सम्मानपत्र प्रदान गरिएको थियो ।
कतारका लागि नेपाली राजदुत डा. सुर्यनाथ मिश्रको ४ बर्षे कार्यकाल कुशलता पूर्वक सम्पन्न गरी स्वदेश फर्कदै गर्दाको अवस्था पारेर नेपाल प्रवासी तामाङ समाजले सोही अवसरमा विशेष सम्मान तथा विदाई कार्यक्रम राखेको हो । महामहिम राजदुत डा. मिश्रले सम्मान ग्रहण गरीसकेपछि मन्तव्यको क्रममा भने, कतार र नेपालको राजनीतिक, भौगोलिक तथा ऐतिहासिक स्थिती हेर्दा नेपालीहरुको आर्थिक कुटनीतिले मात्र धेरै महत्व बोकेको हुनाले यसलाई सुसंस्कृत र मर्यादित बनाउन सवैको सहयोग चाहिने बताए ।
कतारबाट नेपालमा लगानी भित्र्याउनको साथै कतारको तर्फबाट पर्यटन भित्र्याउने योजना नेपाली दुतावासले पहल गर्दै आएको भएपनि नेपाल सरकार र दुतावास रोेजगारीमा मात्र निर्भर रहनुपरेको कुरा बताए । नेपाली कामदारहरुको रोजगारीको सुरक्षाको हकमा चालिएको कदम अनुसार रोजगारी सुरक्षामा सफल भईसकेको दावा गर्दै अब व्यापार प्रवर्धनमा पनि ठोस उपलव्धि हासिल गर्नुपर्ने बताए ।
नेपालको भूभागसंग जोडिने सामुन्द्रिक बन्दरगाहको अभाव, सामुन्द्रिक दुरी तथा भूमार्गको महंगो परिवहनले गर्दा नेपालमा उत्पादित विभिन्न सामाग्रीहरु सुलभ मूल्यमा सहजताको साथ कतारमा पैठारी गर्न असम्भव भएको बताए । अन्त्यमा आफ्नो कार्यकालको मूल्यांकन गरी समाजले गरेको सम्मान प्रति मिश्रले समाजप्रति आभार व्यक्त गरे ।
लामा गुरु थर्चा लामाबाट ल्होछार पर्व सम्बन्धी जानकारी प्रस्तुत गरिएको थियो भने मातृसंस्थाको तर्फबाट थारु कल्याणकारी समाजका अध्यक्ष बिद्यानन्द चौधरी लगायत नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष मान बहादुर साँवा लिम्बु , बद्रि पाण्डे तथा अन्यले पनि आफ्नो मन्तव्य राखेका थिए । सोही अवसर पारेर तामाङ समुदायका स्रष्टा द्धय श्याम कुमार ग्लान तामाङ, सुजन गोले तामाङ र अन्य द्धारा तयार गरी निकालिएको सम्बन्ध नामक गजल एल्बमको विमोचन महामहिम राजदुत डा. सुर्यनाथ मिश्रबाट गरीएको थियो ।
नेपालबाट आमन्त्रित तामाङ भाषाका सुप्रसिद्ध गायक रामबावु योञ्जनको आकर्षक गीतहरुको प्रस्तुतीले उपस्थित सवै दर्शकहरु उनको गीत संगसंगै नाचेर भरपुर मनोरञ्जन लिएका थिए । तामाङहरुको मातृभाषामा धेरै गीतहरु गाएर आफ्नो अलग छवि बनाउन सफल गायक योञ्जनले नेपाली भाषाको गीतहरु पनि गाएर थप मनोरञ्जन प्रदान गरेका थिए । नेपालको राष्ट्रिय जनगणनाले तामाङ थर भएकालाई मात्र तामाङ जाति अन्तर्गत प्राथमिकता दिएको कारणले गर्दा सवै तामाङ भाषाभाषीहरुलाई थरको पछाडि तामाङ जात लेखाउन अनुरोध गर्दै देशव्यापी सांगीतिक यात्रा गरी गीत मार्फत चेतना बाँड्दै हिँड्ने गायकले कतारमा रहने सम्पुर्ण तामाङ भाषाभाषीहरुलाई आफ्नो थरको पछाडि तामाङ जात लेख्ने अनुरोध गर्न पनि गीत मार्फत बाट नै भ्याएका थिए ।
त्यस्तै गरी स्थानीय कलाकारहरुमा कलाकार संघका तर्फबाट प्रस्तुत गरिएको तामाङ संस्कृति झल्किने विभिन्न गीत, तथा नृत्य लगायत डिजे प्रस्तुतीले विशेष रौनकता थपेको थियो । विभिन्न मनोरञ्जन दिने सिलसिलामा कलाकारहरुमा नृत्य प्रस्तुत गर्नेमा विनोद लामा, सन्तोष, बलिन्द्र , कमान लामा, थर्चा लामा, सुमन र हरि लामा थिए भने नृत्यांगनाहरुमा अनिता तामाङ , संगिता तामाङ, रेली तामाङ, विना तामाङ, सरु तामाङहरु रहेका थिए ।
त्यस्तै गरी स्थानीय गायकहरुमा कुन्साङ वाईवा, उत्तर लामा (संगुल) , रविन राई, प्रेम कुमार गुरुङ, बाबुराम परियार, अमृत तामाङ र विपिन लिम्बुले आफ्नो गायन प्रस्तुत गरेका थिए । त्यस्तै गरी राजेश रुम्बा लामाले गजल वाचन गरेका थिए भने सावित्री गिरीले आफुद्धारा रेकर्डिङ गरिएको गीत गाएकी थिइन् भने अर्का कलाकार सोम बहादुर लामाले आफ्नो क्यारिकेचर प्रस्तुत गरेका थिए ।