काभ्रेपलाञ्चोक पुस २९ गते ।
सिन्धुपाल्चोक जिल्लाको बाँडेगाउ गाविस वडा नम्बर–४ नयाँपानीमा आजबाट नयाँपानी स्नान मकर महोत्सव हुदैँछ । स्थानीय पहिचान समृद्धिको आधार, बाह्र वर्षे नयाँपानी प्राकृतिक उपहार भन्ने नाराका साथ माघ २४ गतेसम्म चल्ने महोत्सवमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ, अखण्ड रुद्रीपाठ, अखण्ड दीप प्रज्वलन गरिने बताइएको छ ।
त्यस्तै सामूहिक व्रतबन्ध, स्थानीय साँस्कृतिक झाँकी प्रदर्शन, साहित्यीक कार्यक्रम, लोक साँगीतिक कार्यक्रम लगायतका कार्यक्रम संचालन गर्ने आयोजकले जानकारी दिएको छ । प्रत्येक १२ वर्षको फरकमा कात्तिक महिनामा पानी उम्रिने र साउन महिनामा सुक्ने प्राकृतिक विशेषता र पहिचान भएको ठाउँको प्रचार प्रसार गरी आन्तरिक पर्यटनको प्रवद्र्धन गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिन लागेको आयोजक मूल समारोह समितिका अध्यक्ष रामप्रसाद नेपालले जानकारी दिनुभयो । महोत्सव अवलोकन गर्न आउनेहरुका लागि होमस्टेको व्यवस्था गरेको अध्यक्ष नेपालले बताउनुभयो ।