Responsive Ad Slot

latest

‘क ख ग घ’ ले बिग्रे नेपाली I

Saturday, January 14

/ by Admin BHOLA THAPA


चर्चित ढुंगेल

कलिला नानीहरुलाई, बेलामा नपढेका÷पढ्न नपाएका प्रौढहरुलाई नेपाली साउअक्षर चिन्न÷लेख्न सिकाउँदा शुरुमा यिनै चार अक्षरबाट थालिन्छ । हातले राम्ररी शिशाकलम वा डटपेन नसमाउँदै र अक्षरै नचिन्दै तिनलाई ‘क ख ग घ’ उच्चारण गर्न भने आउँछ । त्यसैगरी अक्षरै नचिनीकन कुनै ‘टालाटुली बाटुली’, ‘सानो सानो खरायो’ वा ‘सियो खोइ सियो’ बाल कविता मुखाग्र हुन्छ तिनलाई । यो किन हुन्छ भने लयमा बाचेको कविताले सानो मस्तिष्कमा घर बनाउँछ । यस्तो भएपछि तिनलाई पढ्नमा रुची बढ्छ । यही लयको लतले अक्षर चिन्नभन्दा कविता बाच्न तिनलाई सजिलो हुँदैजान्छ । त्यसैले धेरैजसोले अलि समयपछि मात्र अक्षर चिन्दछन् । यहीबाट हाम्रो घोकन्ते विद्या शुरु हुन्छ । ‘धावन्ती खेती’ सप्रे पनि ‘घोकन्ते विद्या’ काम लाग्दैन र अलि ठूलो कक्षामा तिनले बल्ढ्ङ्ग खानुपर्छ । यो त भयो ‘क ख ग घ’ को सिधा बुझाइ ।


अव बाङ्गो बुझाइतिर लागौँ । पढाइलेखाइ बिचैमा छोडेपछि वा पढाइलेखाइ सिद्धयाएपछि औषत मान्छेले धन कमाउने मन गर्छ र त्यही अनुसारको काम खोज्न थाल्छ । स्वदेशमा काम पाउनेले आफुलाई स्वदेशमै राख्छन् र नपाउनेहरुले विदेश ताक्छन् । यि दुवैको उदेश्य धनार्जन गर्नु हो । ढिलो चाँढो अधिकांशले धन आर्जन पनि गर्छन् । ‘पुग्यो’ नभने पनि ‘चित्त बुझाउने’ गरीको धन आर्जन गरेपछि वा थोरबहुत धन जोडेपछि तिनले हजार सपनाहरु बुन्छन् । तिनै हजार सपनाहरुलाई छाँटेर मान्छेले केही सिमित सपना पुरा गर्न खोज्छन् । त्यसो त तिनीहरुमध्ये कमैले मात्र धेरै सपना पूरा गर्छन्÷गर्न सक्छन्, अधिकांशले त गोडाचारेक सपना साकार पार्दै धर्ती छाड्दै जान्छन् ।

यहाँसम्म पढिसक्दा ‘कसरी ‘क ख ग घ’ ले नेपाली बिग्रे ?’ भनेर दाँत किट्दै हुनुहोला । कृपया त्यसो नगर्नुहोस् । दाँत किट्दा जवानीमा उखेलिएला फ्रन्टसाइडको दाँत र यो महङ्गीमा सुनको दाँत लाउन नसकेर थोतै बस्नुपर्ला । हेर्नुहोस्, थोतो हुनुभयो भने तपाईँले ङिच्च हाँस्दा तपाईँको अनुहार दुर्घटित गाडीको फ्रन्टसाइटजस्तै किचिक्क देखिन्छ । छँदाछँदैको ‘भुवन केसी मुस्कान’ आमिर खान÷मनिषा कोइराला अभिनित हिन्दी फिल्म ‘मन’को एउटा पात्र फोपटकोजस्तै ‘दाँतको दोकान’ देखिएला र गाउँदै हिँड्नुपर्ला ‘देउराली उकाली चढेर, विजयपुर खोला तरेर, सानीलाई बोलाउँदा बोल्दिन, पर्नु पिर प¥यो, ज्यानलाई पर्नु पिर प¥यो’ गीतको प्यारोडी यसरी ‘जवानीमा दाँत भाँच्यो, हाँस्दा ङिच्च देखिन्छ, बोल्दा पनि देखिन्छ, तरुनीले हेर्दैनन्, हाँस्न मन छैन, मलाई बाँच्न मन छैन ।’

यो हरफ पनि पढिसक्दा नेपाली बिग्रेको कारण नभेट्दा रिसले ‘रातो÷पिरो’ हुनु भो होला । हेर्नुहोस्, ‘रिस हो सवको शत्रु रिसले सव नासिने’ भन्ने कविता त तपाईँले पढ्नु भएकै होला अथवा कसैबाट सुन्नु भएको होला । छैन भने पनि त्यो कविताको सार यही हो । मैले नै भन्दिएकाले तपाईँले मलाई धन्यवाद भन्दा पनि खेर जाँदैन । रिसले कसैको पनि भलो नगर्ने कुरो थाहा पाएपछि हिन्दीमा ‘घुस्सा थुक्दो’ भनेजस्तो नेपालीमा ‘रिस थुक्नुहोस्’ । रिसकै कुरो चल्दा कहिलेकाहीँ जीवनभरी रिसाउदिन भन्नेलाई पनि भाउन्ने रिस उठ्दो रहेछ । बिगार गरेकासँग रिसाउनु स्वभाविक भए पनि बिगारै नगरेका, चिन्दै नचिनेकासँग पनि रिस उठ्दो रहेछ । बोली सुनेर, अनुहार देखेर, चरित्र देखेर, लवाइखवाइ देखेर अपरिचितलाई पनि ‘तनक्क तन्किने गरी दिउँ’ हुने गरी निहुँ खोज्न र झनक्क रिसाउन मन लाग्ने रहेछ । सायद यो रिसको पराकाष्टा हो की, दशाले खाष्टो ओडाएको हो ? दैव जानुन्, उनको कानुन ।

भर्खर जन्मेको बच्चालाई बाहेक मान्छेलाई सर्वप्रथम् कपडा चाहिन्छ । कपडा छैन भने लाज ढाकिँदैन । लाज नढाकिनु भनेको लाज मर्नु हुनु हो । लाज मर्नु भनेको मर्नुभन्दा केही बढि नै हुनु हो । जिउँदै लाजले मर्नुभन्दा खुत्रुक्कै मर्नु निको हो । मर्न नसक्दा लाज छोप्नैपर्छ र लाज छोप्न कपडा चाहिन्छ । कपडा किन्न काम गर्नुपर्छ । त्यसैले ‘क’बाट काम र कपडा दुवै हुन्छ । कपडाको जगेडा गरेपछि मान्छेलाई नभइ नहुने कुरा खाना हो । खान पाएन भने मान्छेले केही गर्न सक्दैन । त्यसो त भुँढी खाना अटाउनका लागि बनेको हो र खानकै लागि मान्छेले कष्ट उठाउँने गर्दछ । गलगिज्ज हुनेगरी खानेले पनि भुँढीकै लागि खाने हुन् । ऐँठन वा ठसठस कनुञ्जेल खानेले पनि भुँढीकै लागि र आन्द्रामा कुद्ने किरालाई पुग्नेगरी मात्र खानेले पनि भुँढीकै लागि खाने हुन् ।

भुँढीका कारणले मान्छे छ र खानाका कारणले भुँढी छ । त्यसैले कपडासँगै मान्छेलाई ‘ख’बाट उठेको खाना र खनजोत दुवैको खाँचो पर्छ । त्यत्ती कुरा पूरा भएर धन सञ्चय भयो भने मान्छेलाई अर्को सुविधाको खाँचो पर्छ र त्यो हो गाडी । यहाँनिर गाडीमा साइकलदेखि कारसम्म पर्दछन् । ल्याकत अनुसारका सवारीसाधनमा साइकल, मोटरसाइकल र कार मान्छेको रोजाइमा पर्दछन् । नहुनेको त्यही साइकल पनि हुँदैन । हुनेका मान्छेपिच्छेका गाडी होलान् । त्यसैले मान्छेले कपडा र खानाको ब्यावस्था गरेपछि ‘ग’बाट उठेको गाडी किन्छ र सुइँकेर हिँड्छ । गाडीपछि ओत लाग्न÷बास बस्न मान्छेलाई घर चाहिन्छ । घर भएन भने वा बस्ने निश्चत गतिलो थलो भएन भने मान्छेको गलो होचिन्छ भन्ने भनाइ पनि छ । मान्छेको भर गर्न पनि घर हुनैपर्छ भन्ने मान्यता छ । त्यसैले कपडा, खाना र गाडीपछि मान्छेलाई ‘घ’बाट उठेको घर र घडेरी चाहिन्छ र नै सक्नेले किन्छ । तर यो सोचाइ नेपाल बाहेकका अन्य देशमा लागु भएको कुरो हो ।

त्यहाँका मान्छेलाई कपडा, खाना, गाडीपछि मात्र घर÷घडेरीको आवश्यकता हुन्छ र ति धेरै कुरामा हामीभन्दा विकसित छन् । तर हाम्रो ताल हेर्नुहोस्, क्या गज्जबको छ ।
हामीले अलिअलि कमायौँ भने पहिले घर÷घडेरी किन्छौँ, जुन ‘घ’बाट शुरु हुन्छ । त्यसपछि गाडी किन्छौँ, जुन ‘ग’बाट शुरु हुन्छ । त्यसपछि मात्र भोज खाए झैँ खाना खान्छौँ, जुन ‘ख’बाट शुरु हुन्छ । लास्टाँ मात्र हामी काम र कपडाका पछि लाग्छौँ, जुन ‘क’बाट शुरु भएको छ । विदेशीहरु ‘क ख ग घ’ बाट शुरु गर्छन् अर्थात् कर्म गरेर खान्छन् र अलि जमाएपछि गाडी र घर किन्छन् । तिनको जीवनशैली नै ‘क=कर्म÷कपडा, ख=खाना, ग=गाडी र घ=घर÷घडेरी’ को सिधा र सरल बाटोमा हुन्छ । हामी चैँ ठ्याक्कै उल्टोबाट ‘घ=घर÷घडेरी, ग=गाडी, ख=खाना र क=कर्म÷कपडा’बाट शुरु गर्छौँ । हामी कर्म पनि कम गर्छौँ र खान पनि बढी खान्छौँ । हो यही प्रकृयाका कारणले नै नेपाली बिग्रेका हौँ । सुल्टोबाट शुरु गर्नुपर्ने हामी उल्टोबाट गर्छौँ । त्यही भएर हामी नेपालीसँगै हाम्रो देश नेपालै उल्टो हिँडेको आभास हुन्छ । आजैदेखि सुल्टो हिँडौँ । े
Don't Miss
© all rights reserved
made with by netKUTI