Responsive Ad Slot

latest

चीनले ७५० करोड आरएमबी सहुलियत ऋण प्रदान गर्ने I

Saturday, January 14

/ by Admin BHOLA THAPA
गंगा बीसी


काठमाडौ, पुस ३० - चीनले नेपालको भौतिक पूर्वाधार विकासका लागि ७५० करोड आरएमबी सहुलियत ऋण प्रदान गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बाबुराम भट्टराई र चीनका प्रधानमन्त्री वेन जिआबाओबीच शनिबार भएको द्विपक्षीय वार्ताका क्रममा चीनले उक्त रकम प्रदान गर्न सहमति जनाएको हो । यसबाहेक चीनले नेपालको शान्ति प्रक्रियामा २० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
चिनियाँ समकक्षी जियाबाओ र प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीचको बार्तापछि विभिन्न शीर्षकमा गरिएको समझदारी हस्ताक्षरमा उक्त रकम अनुदान दिने उल्लेख भएको हो । यसको साथै चिनियाँ एक्जिम बैंकबाट ऋण लिने सम्बन्धमा पनि छुट्टै सम्झौता भएको छ ।

स्रोतका अनुसार आर्थिक प्रविधिक अनुदान सहयोग सम्झौता अन्तर्गत करिव २ अर्ब ६० करोड (दुई सय मिलियन आरएमबी), नेपाल प्रहरी सुदृढीकरणका लागि १३ करोड रुपैयाँ (१० मिलियन आरएमबी) र सशस्त्र प्रहरी बलको सुदृढीकरणका लागि छुट्टै ५ करोड २० लाख (४ मिलियन आरएमबी) अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको हो ।

राससले दुवै मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न आठवटा सम्झौतामा हस्ताक्षर भएको जनाएको छ । हस्ताक्षरित सम्झौताहरुमा नेपाल–चीन सीमा क्षेत्रमा सुख्खा बन्दरगाह व्यवस्थापन, सीमा क्षेत्रका बासिन्दाले चरण क्षेत्रको उपयोग गर्न पाउने सुविधा, दुवै मुलुकका विदेश मन्त्रालयबीच सहयोग आदानप्रदान रहेका छन् । ती सम्झौतामा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी आर्थिक तथा प्राविधिक सहयोग प्रवर्धन, सशस्त्र प्रहरी बलका लागि प्रशिक्षण प्रतिष्ठान स्थापना, गृह मन्त्रालयमार्फत प्रदान गर्ने गरी नेपाल प्रहरीलाई आवश्यक उपकरणलगायत भौतिक सामग्री प्रदानसम्बन्धी तीन बेग्लाबेग्लै समझदारी पत्रमा नेपालका तर्फबाट अर्थमन्त्री वर्षमान पुन र चिनियाँ अर्थमन्त्रीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, सांस्कृतिक आदानप्रदान तथा ऋण व्यवस्थापनका लागि संयन्त्र खडा गर्नेसम्बन्धी एक सम्झौतामा पनि हस्ताक्षर भएको छ । साभार ईकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI