Responsive Ad Slot

latest

मलिनाको पदावधि सात महिना I

Saturday, January 14

/ by Admin BHOLA THAPA

स्मृति ढुंगाना, काठमाडौं, पुस २९- आगामी मिस नेपाल वैशाखमै हुने भएको छ। 'मिस वर्ल्ड' भदौ २ मै हुने भएपछि मिस नेपालको आयोजना झन्डै पाँच महिना अगाडि हुन लागेको हो। मिस वर्ल्डमा भाग लिन साउन ५ मा नै मिस नेपाल चीन पुग्नुपर्ने भएपछि प्रतियोगिताको मिति नजिक ल्याइएको हो।

यो तयारीसँगै मिस नेपाल मलिना जोशी सबैभन्दा छोटो अवधीकी मिस नेपाल बन्ने भएकी छिन्। तर, मलिना यसले आफूलाई फरक नपर्ने बताउँछिन्। 'एकपटक मिस नेपाल भएपछि धेरै वा थोरै अवधिले के नै फरक पार्छ र? मैले गरेका अठोट पदावधि सकिएपछि पनि पूरा गर्न सक्छु नि,' उनले भनिन्। आफुले विभिन्न योजना बनाए पनि कामको सुरुवात कहाँबाट गर्ने भन्नेमा दुबिधा बढेको मलिनाले बताइन्।
असारको पहिलो सातामात्र मिस नेपालको तयारी थाल्ने द हिडन ट्रेजरले 'मिस नेपाल २०१२'को आवेदन खुला गरिसकेको छ। बिहीबारदेखि मिस नेपालको आधिकारिक वेबसाइटमा प्रतियोगिताको आवेदन फारम राखिएको छ। 'यसपटक मिस वर्ल्ड चाँडै हुने भएकोले नेपालबाट पनि छिट्टै प्रतिनिधि पठाउनु पर्छ। त्यसैले वैशाखमै मिस नेपाल छान्न लागेका हौं,' आयोजक संस्थाका गृहेन्द्रमान राजवंशीले भने। सन् १९९४ मा सुरु भएको मिस नेपालको यो १७ औं संस्करण हो।

प्रतियोगितामा १९ देखि २५ वर्षका अविवाहित नेपाली युवती सहभागी हुन पाउने छन्। कम्तीमा प्लस टु सकाएका र ५ फिट ४ इन्च उचाइका युवतीलाई मात्र आवेदन दिन आयोजकले अनुरोध गरेको छ।
फागुन ११ सम्ममा अन्तिम प्रतिस्पर्धीको छनोट गरिसक्ने आयोजकको योजना छ। 'हाम्रो अहिलेको तयारी अनुसार वैशाख ८ मै मिस नेपाल २०१२ को घोषणा गर्ने सोच छ। यसो गर्दा मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने युवतीले प्रशिक्षणको लागि बढी समय पाउनेछिन्,' राजवंशीले खुलाए। अन्तिम प्रतिस्पर्धामा २० भन्दा बढीलाई सहभागी नगराउने पनि उनले प्रष्ट पारे।

छोटो समयमा मिस नेपाल छनोट गर्दा निकै समस्या झेल्नु परेको बताउँदै सुर्वण क्षेत्रीले यसपटक छिट्टो प्रक्रिया सुरु गरेको जनाकारी दिए। कोरियोग्राफर रचना गुरूङले प्रशिक्षणको लागि समय मिलाउनुपर्ने हुँदा वैशाखमै प्रतियोगिता गर्न लागिएको बताइन्। 'देशभरका युवतीहरूको सहभागिता हुनुपर्छ। यसअघि कम समयमै धेरै कुरा भ्याउनु परेकाले प्रशिक्षणका कक्षाहरू छोट्याउनु परेको थियो। यसपटक त्यस्तो नहोस भनेर तयारी सुरू गरेका हौं,' उनले भनिन्। (नागरिक)
Don't Miss
© all rights reserved
made with by netKUTI