काठमान्डौ पुस २९ गते ।
शीर्ष नेताहरुबीच कुरा नमिलेपछि एकीकृत माओवादी केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ केन्द्रीय समितिमा पेस भएका दुवै प्रस्तावलाई एकीकृत गर्ने ठूला नेताहरुको प्रयास निष्कर्षमा नपुग्दा केन्द्रीय समितिको बैठक अनिश्चित बनेको हो ।
करिब २ हप्ताअघि सुरु भएको एकीकृत माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्ड र बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले छुट्टाछुट्टै प्रस्ताव पेस गरेपछि दुवै प्रस्तावलाई एकीकृत गर्ने र एउटै प्रस्ताव पेस गर्ने शीर्षनेताहरुको प्रयास थियो ।
यद्यपी दुवै प्रस्तावलाई पेस गर्ने प्रयास जारी रहेको पोलिटव्यूरो सदस्य हरिबोल गजुरेलले बताउनुभयो । यसको लागि अध्यक्ष प्रचण्डले औपचारिक तथा अनौपचारिक रुपमा छलफललाई निरन्तरता दिइरहेको उहाँको भनाइछ ।
पार्टीको विवाद समाधानको लागि अध्यक्ष प्रचण्डले बनाएको प्रस्तावित मस्यौदालाई सच्याउन उपाध्यक्ष बैद्य पक्षले आग्रह गरेपछि कसरी अघि बढ्ने भन्नेमा अध्यक्षले छलफल जारी राखेको माओवादीले जनाएको छ । अध्यक्षको प्रस्ताव पुरानै ढङ्गबाट आएकोले सच्याउन आग्रह गरिएको पोलिटव्यूरो सदस्य हरिभक्त कंडेलले बताउनुभयो । सैद्वान्तिक रुपमा भएका विमतीलाई महाधिवेशमा लैजाने, पार्टी विवाद समाधानको लागि आन्तरिक फोरम चलाउने लगायतका प्रस्ताव प्रचण्डले गर्नु भएको थियो ।