काभ्रे, पुस २९ गते ।
काभ्रे शैक्षिक सत्र सकिन तीन महिना पनि बाँकी छैन । कक्षा ८ को जिल्ला स्तरीय पढाइका लागि यहाँको एक परिवार मेहनत गरिरहेको छ । पारिवारिक कारणले विचमा पढाइ छोडेर पुनः भर्ना भएकी ममता कुँवर यतिखेर १३ वर्षिय छोरा चुडामणीसँग कक्षा ८ को परिक्षा तयारी गरिरहेकी छन् ।
वनखु गाविसमा जन्मेकी ममताको जनकल्याण माध्यमिक विद्यालय घर्तिछापमा कक्षा ८ मा पढ्दा पढ्दै विवाह भयो । विवाह पश्चात उनको पढाइले निरन्तरता पाउन सकेन । ममताका श्रीमान पदमबहादुर अध्ययन गर्दै थिए । उनिहरुबाट तीन सन्तानको जन्म भयो । जेठो छोरा अहिले ममतासँगै जनमहोहन माध्यमिक विद्यालय बनखु–३ सल्लेरीमा अध्ययन गर्दैछन् । अन्य दुई छोरा मध्ये किरण कक्षा ६ मा पढ्छन् भने कैलाश कक्षा ३ मा । गाउँमा घाँस पात र छोराछोरीको स्याहारसुसारमै समय विताउँदै आएकी ममतालाई सामाजिक कामले जिम्मेवारी बहन गर्न बाध्य पार्दै लग्यो । राजनीतिक चेतनाका कारण उनि नेकपा एमालेको गाउँ कमिटीमा रहेर काम गर्न थालिन् ।
गाउँमा गठन भएका महिला समुहहरुमा नेतृत्व गर्ने महिलाहरुको अभाव हुँदै गएपछि अक्षर चिनका नाताले उनी पन्छन सकिनन् । संस्थाको अध्यक्ष पद भन्दा अन्य कार्यकारी पदहरु महत्वपूर्ण हुने रहेछ भन्ने कुरा ममतालाई त्यतिबेला मात्रै थाहा भयो जतिखेर बैठक बसिरहेको समयमा बैठकको निर्णयहरु लेख्न कोहि महिला अघि सर्न सकेनन् । महिलाहरुले मासिक रुपमा बचत गर्न लागेको रकमको हिसाव किताव राख्ने महिलाहरुको पनि समस्या हुँदै गयो । यि सबै काममा ममताले चासो देखाइन् ।
गाउँमा कुनै घरमा समस्या प¥यो भने ममता पुगिहाल्छिन् । जहाँ समस्या त्यहाँ समाधानसहित ममताको उपस्थिती । एमाले गाउँ कमिटीको अधिबेशनले ममतालाई सह सचिवको जिम्मेवारी दियो । ममताले कुशलतापुर्वक उक्त जिम्मेवारी पुरा गरेकी छिन् । ममताले भनिन्–‘केहि वर्षपछि म एमालेको गाउँ कमिटीको नेतृत्व गर्न तयार छु । महिलाहरु पनि राजनीतिमा आउनुपर्छ । राजनीतिले नै समाजलाई परिस्कृत बनाउँछ । सचेत बनाउँछ ।’
समुहमा थोरै थोरै रकम जम्मा गर्दा धेरै हुन थालेपछि ममताले आफ्नो अध्ययनलाई निरन्तरता दिने योजना बनाइन् । तर कसरी ? घर ब्यवहार पनि मिलाउनै प¥यो ? श्रीमान् जागिरमा, छोराहरु पढन् । घर कसले हेर्छ ? ममताले श्रीमान् पदमसँग सल्लाह गरिन् र जनमोहनमा छोरा चुडामढीसँग गएर भर्ना गरिन् । चुडामणीको रोल नं १३ ममताको ५३ । कक्षा ८ मा अहिले ५५ जना विद्यार्थीहरु भर्ना भएका छन् । ममताको दैनिकी विहान ५ बजेबाट शुरु हुन्छ । घरको ब्यवहार सँगै बस्तुलाई खानेकुराको जोहो गर्छिन । सामाजिक काममा समय दिए पछि ममता र पदम दुवै जना विद्यालय निस्कन्छन् । ममताको हातमा चुडामढी र किरण हुन्छन् भने पदमको कैलाश । पदम गौलेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । घर फर्कदाँ छोराहरुसँगै ममता र पदम फर्कन्छन् । कहिलेकाँहि छोरालाई मात्रै विद्यालय पठाएर ममता सामाजिक काममा तथा दैनिकी धान्न ब्यस्त हुन्छिन् । बेलुका छोरासँगै दिउसको गृहकार्य शुरु गर्छिन । ममताको यो जाँगर र मेहनतलाई केहिले खिसिटिउरी समेत गरेका छन् । तर, ममताले हार खाएकी छैनन् । निरन्तर उनले पढिरहने अठोट ब्यक्त गरेकी छिन् ।
ममताले विद्यालय अध्ययन गर्न गएको विषयले केहि समय गाउँ तात्यो । घर्तिछाप र वनखुको सीमानामा घर भएकी ममताले सबै गाउँलेको उत्तर दिन लागिनन् छोराहरुलाई पनि शिक्षित बनाउँदै आफु पनि पढेर समाजमा केहि गर्ने योजनामा निरन्तर लागिरहिन् । यो उमेरमा किन विद्यालय नै जानु प¥यो त ? ममताको भनाई छ– ‘पढ्नलाई कुनै उमेरले छेक्दैन । पढाई मान्छेको ब्यवहारमा अत्यावश्यक बस्तु हो । प्रमाणपत्रका लागि भन्दा ब्यवहारीक बन्न अध्ययनलाई निरन्तरता दिनेछु ।’ (मेचीकाली)