काठमान्डौ
पुस १७ गते ।
केही दिनअघि भारतमा देखिएको आँधीको प्रभाव नेपालमा पनि परेपछि आज विहानैदेखि राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । देशका विभिन्न स्थानमा वर्षा भएको छ भने केही उच्च पहाडी र हिमाली जिल्लामा हिमपात समेत भएको छ । हिमपात र वर्षाले कृषक वर्ग बालीनाली सप्रिने आशमा रहेपनि अन्य क्षेत्रमा भने नराम्रो प्रभाव परेको छ । देशभरिका सामुदायिक रेडियोहरुका अनुसार हिमपातले हवाई उडान तथा टेलिफोन अवरुद्ध हुनुका साथै मानिसको दैनिकीमा प्रभाव परेको छ । त्यसैकारण विगतको तुलनामा आज मानिसहरुको चहलपहल घटेको छ । यो अवस्था अझै एक दुई दिनसम्म कायम रहनसक्ने मौसमविद्हरुको भनाइ छ ।
विहानैदेखि भएको हिमपातले हुम्लामा हवाई उडान तथा ल्याण्डलाइनबाहेकका टेलिफोन सेवा अवरुद्ध भएको छ । सुर्खेत र नेपालगञ्जबाट हवाई उडान रोकिएपछि सर्वसाधारण मर्कामा परेका छन् । यद्यपि किसानहरु भने बालिनाली सप्रिने आशमा उत्साहित भएका छन् ।
मुगु, दार्चुला र मनाङमा पनि हिमपात भएको छ । मनाङको चामे लगायतका दर्जन भन्दा बढी गाविसमा हिमपात भएको छ । कतिपय स्थानमा वर्षा भएपछि गहुँ बाली लगाइरहेका किसानहरु उत्पादन बढ्ने आशाले उत्साहित भएका छन् ।
भारी बर्षा सँगै जिल्लाको उच्च लेकाली क्षेत्रमा हिमपात सुरु भएको छ । बिहानै देखी सुरु भएको बर्षापछि दिउसोबाट लेकाली क्षेत्रमा हिमपात शुरु भएको हो । लेकाली क्षेत्रका नायकबाडा, रामीडाँडा, रोकायगाउँ, पैंक, दह लगायतका दर्जन बढि गाविसका उच्च क्षेत्रमा हिमपात शुरु भएको छ । हिमपातले त्यस क्षेत्रको जनजीवन प्रभाबित भएको स्थानीयबासीले जनाएका छन् । लामो समयसम्मको खडेरीपछि परेको बर्षाद हिमपातले किसानहरु खुशि भएका छन् । गत असोज महिना देखी पानी नर्पदा किसानहरुले लगाएको गहुँ बाली सुक्न थालको थियो । गहुँबाली सुक्ने डरले चिन्तित बनेका किसानहरु बर्षात र हिमपापछि खुशी भएका छन् । हिमपातका कारण जिल्लामा अत्यधिक चिसोे बढेको छ । अत्याधिका चिसोले जिल्लाको पठनपाठनमा बाधा परेको छ ।
जाडोले कठ्याङ्ग्रीएर महोत्तरीमा आज थप २ जनाको ज्यान गएको छ । यो सगैँमहोत्तरीमा जाडोका कारण मर्नेको संख्या २७ पुगेको छ । महोत्तरीको भरतपुर७ बस्ने ७० वर्षिया सुजना देवी महतो र लक्ष्मीनियाँ १ का ५६ वर्षिय महेन्द्रपासवानको जाडोले कठ्याङ्ग्रिएर आज बिहान ज्यान गएको ईलाका प्रहरीकार्यालय गौशालाका प्रहरी निरिक्षक राम कुमार बस्नेतले जानकारी दिनुभयो ।कमजोर आर्थिक अवस्था भएका महतो र पासवान आज बिहान ओछ्यानमा मृतअवस्थामा फेला परेको पनि प्रहरीले बताएको छ । २ हप्तासम्म चलेको शितलहरले कमजोरबनेका उनीहरु श्वासप्रश्वास सम्बन्धी समस्याबाट पिडित हुने गरेका छन् ।
बागलुङ जिल्लाको वोबाङ गाविसको ढोरपाटनमा आज बिहानैदेखि भारी हिमपात भइरहेको छ । सदमुकाम बागलुङ बजारदेखि ४६ कोष पश्चिममा रहेको ढोरपाटन शिकार आरक्षमा बिहानै देखि हिमपात परेको हो ।हिमपातपछि त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार त्यस क्षेत्रमा एक फिटसम्म हिउँ परेको छ । ढोरपाटन क्षेत्रमा हिमपात परेपछि जिल्लाको पश्चिम क्षेत्रमा आज दिनभर पानी परेपछि अत्याधिक चिसो पनि बढेको छ ।