काठमान्डौ पुस २४ गते ।
मधेसी जनअधिकार फोरम नेपालले डा बाबुराम भट्टराई नेतृत्वको सरकार इतिहासकै सबैभन्दा भ्रष्ट भएको आरोप लगाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको घोषणा गर्नुभएको हो । फोरमले दुई महिनाभित्र शान्ति प्रक्रिया निष्कर्समा पुर्याउने प्रधानमन्त्रीको प्रतिवद्धता पुरा नभएको, १० हजार मधेसी यूवालाई सेनामा भर्ति गराउने सहमति कार्यान्वयन नगरेको, भ्रष्टाचार र कुशासन इतिहासकै सबैभन्दा खतरनाक अवस्थामा पुगेको अवस्थामा सरकारलाई दिएको समर्थन कायम राख्नुको औचित्य नरहेको स्पष्ट पार्दै अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा यादवले वर्तमान सरकारबाट शान्ति र संविधान निर्माणको कार्य पुरा नहने दावी गर्दै आफूहरुको समर्थन फिर्ता लिने निर्णय नयाँ सरकार निर्माणको लागि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्यपुर्नसंरचना समितिले प्रतिवेदन बुझाईसकेको अवस्थामा आयोग गठन गरेर संघीयता विरुद्ध षडयन्त्र थालिएको दावी गर्दै संघीयता विनाको संविधान आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिनुभयो ।