मुम्बई (एजेन्सी), पुस २९ - 'कुछ कुछ होता है' फिल्मपछि चर्चामा आएकी रानी मुखर्जी अभिनयमा पोख्त हुनुका साथै राम्री पनि भएपछि बलिउडमा उनको लामै समय राज चल्यो ।
'ब्ल्याक' फिल्ममा अन्धी युवतीको अभिनय गरेपछि त उनलाई अभिनयमा लामो दौडको घोडा नै मानिएको थियो । तर हरेकको एकपटक मात्रै समय आउँछ भनेझैं 'लगा चुनरीमे दाग' फिल्म नचलेपछि उनको करिअरमा पनि दाग लाग्यो । त्यसको चार वर्षपछि 'नो वन किल्ड जेसिका' बाट पुनः चर्चामा आउन थालेकी रानीका लागि पछिल्ला समय भने सुखद देखिएका छन् ।
यस वर्षकै बहुप्रतीक्षित फिल्म 'तलास' बाट आमीर खानसँग आउन लागेकी रानीलाई 'धुम ३' मा पनि लिइने लगभग पक्का भइसकेको यशराज फिल्मस्ले उल्लेख गरेको छ । उनले 'धुम २' मा ऐश्वर्या राय बच्चनले खेलेको भूमिका मात्र पाएकी छैनन्, पुनः आमिरसँगै जोडी जमाउने अवसर पनि पाएकी छन् । साइको भिलेनमा देखिन लागेका आमिरसँगको रानीको रोल पनि महत्त्वपूर्ण रहेको बताइएको छ ।
तीन खान आमीर, सलमान र शाहरूखलाई लिएर छुट्टाछुट्टै फिल्म बनाउन लागिरहेको यशराज ब्यानरले 'धुम ३' लाई भने केही पछि सार्ने भएको छ । 'धुम ३' का लागि 'धुम श्रृंखला' का नियमित कलाकार अभिषेक बच्चन र उदय चोपडाबाहेक यसपटक यशराजले नयाँ कलाकारहरू आमीर, कटि्रना कैफ र रानीलाई थप्ने भएको हो । 'धुम ३' मा केही नयाँ कलाकार थपिने पक्का भए पनि यशराज ब्यानरले उनीहरू को-को हुनेछन् भन्ने आधिकारिक धारणा भने बाहिर ल्याइसकेको छैन । तर रानीको यशराजसँगको निकटताले पनि उनी पक्कै खेल्नेछिन् भन्ने देखाउँछ ।