नेपाली जनप्रगतिशील मंचका अध्यक्ष रमेश भट्टको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले गत दिसम्बर ३०, २०११ मा सम्पन्न भएको दोस्रो महाधिवेशनबाट निर्वाचित भएका केन्द्रिय समितिका पदाधिकारीहरुको नामावली दुतावासलाई बुझाएका थिए ।
सोही अवसरमा महामहिम राजदुत डा. सुर्यनाथ मिश्रसंग प्रतिनिधीमण्डलले नेपाली कामदारहरुको अवस्था वारेमा, दुतावासले नेपाली समुदायहरु विचमा दिएको योगदानको विषयमा छलफल गरेको थियो ।
नेपाली कामदारहरु नठगिऊन्, दुःख नपाऊन् भनेर वैदेशिक रोजगारको सिलसिलामा कतार आउन आवश्यक पर्ने कागजातहरुमा (जस्तै डीमाण्ड लेटर, रोजगारदाता र कामदार विचको सम्झौता पत्र आदिमा) कामदारहरुको सरसुविधा स्पष्ट रुपमा उल्लेख गरिएको छ छैन, कम्पनी सक्कली होकी होइन, कागजातहरु दुरुस्त छन्की छैनन् हेरेर मात्र प्रमाणीकरण गर्ने जुन शुरुआत गरेको छ यस विषयमा पनि छलफल भएको थियो ।
यो कार्य अत्यन्त प्रशंसनिय रहेको र कतारमा रहेका नेपाली समुदायले यसको प्रशंसा गरेको बताइएको छ । दुतावासको यसकार्यले एकातर्फ नेपालीहरुको रोजीरोटीको सुरक्षा हुनेछ, नेपालीको मानसम्मान बढ्नेछ, तनुवा, हथौडा भिषाजस्ता व्यक्तिगत भिषा निकालेर नेपालीहरुलाई अलपत्र पारिने र ठगिइने कार्य विस्तारै निष्क्रिय भएर जानेछ भने अर्कोतर्फ यस कार्यबाट राजस्वमा समेत वृद्धि भएको र नेपालबाट कामदार पनि ढुक्क साथ पठाउन सकिने वातावरण सृजना भएको सो अवसरमा जानकारी गराइएको थियो ।
दुतावासमा भएको कामको चापलाई मध्यनजर गरेर दुतावासले परराष्ट्र मन्त्रालयलाई २ जना कर्मचारीको थप दरबन्दी अनुरोध गरी पठाएको र सोको व्यवस्था नभइन्जेलसम्म स्थानिय २ जना कर्मचारी राख्न अनुमतिसमेत मागी पठाएको जानकारी महामहिम राजदुतले दिएका थिए ।
सोही अवसरमा प्रतिनिधिमण्डलले दुतावासको आश्रयमा रहेका पिडीत नेपालीहरुलाई प्रत्यक्ष भेटेर उनीहरुको यथार्थ समस्याको जानकारी लिएका थिए । पिडीतहरुलाई जनप्रगतिशील मंचका तर्फबाट मंचका अध्यक्ष रमेश भट्टले ५५० रियाल राहत प्रदान गरेका थिए । नेपाली पिडीतहरुलाई सहयोग गरेकोमा महामहिम राजदुत डा. मिश्र, दुतावासका द्धितीय सचिव जय बहादुर छाङ्गछा राई, श्रम सहचरी ध्रुव कोइराला लगायतले मंचको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक उद्धारकार्यमा सक्रिय रहन आग्रह समेत गरेका थिए । दुतावासमा दुईजना नेपाली महिला समेत १० जनाभन्दा बढी पिडीत नेपाली कामदारहरुले आश्रय लिएर बसेकाछन् ।
प्रतिनिधिमण्डलमा मंचका केन्द्रिय अध्यक्ष रमेश भट्ट, उपाध्यक्षद्धय मानबहादुर पुन र श्रीकृष्ण भट्टराई, महासचिव विष्णु सापकोटा, सचिव बुद्धिराज परियार, कोषाध्यक्ष प्रकाश केसी, सचिवालय सदस्य बलदेव राना सचिवालय सदस्य राजु डुम्रे, सल्लाहकार समितिका संयोजक होमनाथ शर्मा, सदस्य रकमध्वोज राई, सदस्य रामु बस्याल, ऐक्यवद्धता मासिकका कतार संयोजक पत्रकार तिलविक्रम थेबे लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।