अमेरिका, पुस २७ - जर्जिया राज्यको डेकाल्ब काउन्टीमा एक नेपाली युवा ३९ वर्षीय दामोदर पाठकको सोमबार राती हत्या भएको छ । पाठक स्थानीय बिपी ग्याँस स्टेसनमा काम गर्थे ।
एलनउडको सेडर ग्रोभ रोडस्थित उक्त ग्याँस स्टेसनमा रातीको ड्युटी गर्दै थिए । एघार बजे दुई जना आए । रजिस्टरको पैसा लुटे र गए । पाठक ती लुटेराबाट पैसा लिन पछिपछि गए र पार्किङ लट पुगे । पैसा फिर्ता लिने प्रयासमा उनलाई गोली हाने र हतियारधारी भागेको प्रहरीको अनुमान छ ।
पाठकलाई छातीमा गोलीमा लागेको थियो । उनलाई ग्य्राडी मेमोरियल अस्पतालमा लगियो । त्यहाँ उनलाई मृत घोषित गरिएको थियो । आफ्ना ग्राहकसँग परिचित मेहनती र असल पाठकलाई 'पिटर' उपनामले चिनिन्थ्यो । ललितपुर घर भएका विवाहित पाठक साढे चार वर्षदेखि अमेरिकामा बस्दै आएको स्थानीय समाजसेवी राजा घलेले बताए ।
नेप्लिज एसोसिएसन इन साउद-इस्ट अमेरिका (नासा) ले एक विज्ञप्ति जारी गर्दै अमेरिकास्थित नेपाली समुदायले एउटा अर्को क्षति बेहोरेको बताएको छ ।
यसअघि नोभेम्बरमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नारायण भण्डारी मृत फेला परेका थिए । लम्जुङ जिल्ला खुदी गाउँ विकास समिति १ घर भई सन् २००३ मा विद्यार्थी भएर अमेरिका पढन आएका २६ वर्षीय भण्डारी नोभेम्बर १० तारिख राती साढे आठ बजेतिर आफ्नो कोठाको फोहोर फाल्न बाहिर निस्किएका थिए । त्यसपछि कोठा नफर्किएका नारायणको एकैपटक स्थानीय प्रहरीले आठ दिनपछि उनी बस्ने कोठा नजिकै रहेको स्थानीय पार्कको छेउमा शब फेला पारेको थियो । source:ekantipur.com