काठमाडौँ, माघ ८ गते ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाङको नारायणपुर गाविसमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यताबारे अध्ययन गर्ने भएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले बाराको डुमरवानामा दोस्रो विमानस्थलको काम केही समयपछि सुरु हुने भए पनि दाङको नारायणपुर गाविसको वडा नं ६ मा भौगोलिक सम्भाव्यताको हिसाबले विमानस्थल निर्माण गर्न सकिने भएकाले तत्काल अध्ययन टोली पठाउने जानकारी दिनुभयो ।
हाल सञ्चालनमा रहेको दाङकै टरीगाँउ विमानस्थल सानो र साघँुरो भएकाले कम जनघनत्व रहेको नारायणपुर नै अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त हुने नेपाल वायुसेवा निगमका क्याप्टेन रवीन्द्रमान शेरचन दाबी गर्नुभयो ।अन्तर्राष्ट्रिय विमानस्थलका लागि लम्बाइ तीन किलोमिटर र चौडाइ डेढ किलोमिटर आवश्यक पर्ने भए पनि नारायणपुरमा साढे पाँच किलोमिटर लम्बाइ र साढे दुई किमी चौडाइ रहेको छ ।