कृष्णराज खनाल,
वोस्टन, अमेरिका
संगीतकार, गायक तथा गजलकार महेश्वर पन्तको नवीनतम गजल संग्रह 'हराएको मान्छे'को हिजो यहाँ समीक्षा एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । नेपालीहरुद्धारा सञ्चालित हिमालय किचेनमा आयोजित सो कार्यक्रममा वक्ताहरुले हराएको मान्छे माथि टिप्पणी गर्दै पन्त हराएका होइनन् वरु अमेरिकामा देखिएका छन् भन्नुभयो ।
कवि डा. शिव गौतमले गजल संग्रहको समीक्षा गर्दै पन्तका गजलहरु आफुलाई राम्रो लागेको बताउनुभयो । त्यस्तै, कथाकार एवं कवि शिवप्रकाशले उहाँका गजलहरु सुन्दर रहेको र अझ आगामी दिनमा उच्चकोटिको रचनाहरु आउनेछन् भन्ने अपेक्षा गर्दै गजलकारलाई धन्यवाद दिनुभयो । कवि एवं गजलकार गोवर्धन पुजाले पन्तका गजलहरुमा संगीतबद्ध गरि गाउन मिल्ने खालका रहेको, उहाँका गजलहरु सुललित किसिमले गजलका सिद्धान्तलाई पछ्याएर रचिएका छन् भन्नुभयो ।
गजलकार पन्तका पिता गोविन्दप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गजलकार पन्तले फेसबुकका माध्यमबाट आफुले रचनाहरु सिर्जना गर्दागर्दै पुस्तक समेत प्रकाशन गर्न पुगेको अनुभव सुनाउँदै यसलाई निरन्तरता दिने वचनवद्धता जनाउनुभयो । साथै आफैंले लेखेको र संगीतबद्ध गरेको गजल 'कर्मै हो मेरो खोटो' गाएर सुनाउनु भएको थियो ।
सो कार्यक्रममा कवयित्री भारती गौतम, पत्रकार कृष्णराज खनाल र अनु शाह सन्तोष सुबेदी, ध्रुब घिमिरे आदिले संग्रहको टिप्पणी गर्दै केही रचनाहरु समेत वाचन गरेका थिए । तीन महिनाअघि नेपालमा प्रकाशित उक्त गजल संग्रहमा प्रेम र प्रणयका अतिरिक्त केही व्यंगात्मक समेत गरी जम्मा ५४ वटा गजल छन् ।