प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा सहमति जनाएको काङ्ग्रेस नेता केसीको भनाइ ।।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले स्विट्जरल्याण्डको ज्यूरिचमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा नेपाली काङ्ग्रेसको तर्फबाट आफूले सहमति जनाएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज गरेको साक्षात्कारमा नेता केसीले ज्यूरिकमा सहमतिप्रति आफू र काङ्ग्रेस प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले ज्यूरिच सहमतिमा सेना समायोजन, सत्ता साझेदारी र संविधान निर्माणका विषयलाई ४५ दिनभित्र पूरा गर्ने कार्यतालिकासहित सहमति भएकोमा अरू कुनै पनि सहमति कार्यान्वयन नगरी केवल शासकीय स्वरुपलाई मात्रै अगाडि ल्याएर काङ्ग्रेसलाई घेर्ने काम भएको आरोप लगाउनुभयो । सहमतिका अधिकांश बुँदा माओवादीले कार्यान्वयन नगरेकाले अब म्याद नाघेको औषधी जस्तो भइसकेको केसीको भनाइ छ । उहाँले सहमति प्याकेजमै कार्यान्वयन हुनुपर्ने बताउँदै अमेरिकाको जस्तो राष्ट्रपतीय शासनपद्धति नेपालका लागि उपयुक्त नहुने तर्क गर्नुभयो ।
एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य लिलामणी पोख्रेलले ज्यूरिचमा समायोजन र बहुलवादमा माओवादी रिजर्वेसन रहेको बाहेक कसैको पनि असहमति नरहेको भन्दै काङ्ग्रेसले अहिले आएर सहमतिबाट पछि हट्न नहुने बताउनुभयो । पोख्रेलले ज्यूरिच सहमतिलाई डेट एक्सपायर औषधी र कपाली तमसुक भन्न नहुने बताउनुभयो । उहाँले नेपालमा संसदीय प्रणाली असफल भइसकेकोले अब त्यस्तो व्यवस्था सम्भव नभएको दाबी गुर्नभयो ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य रघुवीर महासेठले एमाले कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचन आउनुपर्ने पक्षमा रहेको भन्दै कार्यदलमा सहमति गरेर काङ्ग्रेस पछि हट्नुले उ संविधान निर्माणमा गम्भिर नभएको आरोप लगाउनुभयो ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रप्रमुख र कार्यकारी एकै ब्यक्ति हुनुपर्ने भन्दै राष्ट्रपतिको निर्वाचन मिति निश्चित तोकेर, मन्त्री परिषदको काम संसदमार्फत् अनुमोदन गराउने र महाअभियोग लगाउने ब्यवस्था गरे त्यसले राष्ट्रपतिलाई निरङ्कुश हुन नदिने तर्क गर्नुभयो । उहाँले मधेसी, दलित, आदिवासी जनजाति, महिला र अन्य जातिको समानुपातिक प्रतिनिधत्व सुनिश्चित गरे जुनसुकै शासन प्रणालीमा गए पनि फरक नपर्ने धारणा राख्नुभयो ।
स्ववियु निर्वाचन प्रणालीबारे निक्र्योल गर्न ९ सदस्यीय कार्यदल ।।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रणालीबारे निक्र्योल गर्न १३ विद्यार्थी सङ्गठनले ९ सदस्यीय कार्यदल बनाएका छन् । अनेरास्ववियुको कार्यालयमा भएको छलफलमा निर्वाचन प्रणालीमा सहमति बन्न नसकेपछि १३ विद्यार्थी संगठनले यसबारेमा निक्र्योल गर्न कार्यदल बनाएका हुन् । कार्यदलले विवादित विषयमा सहमति जुटाएपछि माघ २ गते बस्ने बैठकले अनुमोदन गरेर त्रिभुवन विश्वविद्यालय समक्ष पेश गर्ने सहमति भएको नेविसंघका नेता नयनसिंह महरले जानकारी दिनुभयो । बैठकमा माओवादी निकट अखिल क्रान्तिकारीले पूर्ण समानुपातिक हुनुपर्ने अडान राखेको थियो भने काङ्ग्रेस निकट नेविसङ्घले समावेशी समानुपातिक, तथा एमाले निकटको अनेरास्ववियूले संस्थागत प्रत्यक्ष वहुमत हुनुपर्ने अडान राखेको थियो । त्यस्तै तराई निकट दलका विद्यार्थी संगठनले मिश्रित प्रणालीमा तर्क राखेको थियो । विद्यार्थी संगठनहरुबीच विवादलाई मिलाएर एकैठाउँमा उभिएपछि त्रिविसमक्ष पेश गर्ने सहमति भएको हो ।
फैजानको हत्यामा अन्तर्राष्ट्रिय गिरोहको हात रहेको दाबी ।।
इस्लामी सङ्घ नेपालका महासचिव फैजान अहमदको हत्यामा अन्तर्राष्ट्रिय सङ्गठित गिरोहको संलग्लनता रहेको ठहर गरिएको छ । हत्या छानवीनका लागि गठन गरिएको उच्चस्तरीय आयोगले सङ्गठित गिरोहबाट फैजानको हत्या भएको ठहर गरेको हो । सरकारले पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकमा नायव महान्यायाधीवक्ता प्रेमराजा कार्की र एआईजी नरेश गुरुङ सदस्य रहेको तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको थियो । आयोगले आज उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छादारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा फैजानको हत्या विदेशी सङ्गठित गिरोहले गरेको उल्लेख छ । राजनीतिज्ञ मिर्जा दिलसाद वेग र जेलभित्रै युनुशअन्सारमाथि गोली प्रहार गरी आक्रमण गर्ने समूहले नै फैजानको हत्या गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । गएको असोज ९ गते राजधानीको घन्टाघर नजिक ४२ वर्षका अहमदको गोली हानी हत्या गरिएको थियो ।
भट्टराईको विकल्प खोजिए शान्ति र संविधान अधुरो हुने स्थानीय विकास मन्त्री रायमाझी ।।
पोखरा
स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले भट्टराई सरकारको विकल्प खोजिए शान्ति र संविधान पुरा नहुने बताउनु भएको छ । शान्ति र संबिधानको बिषयमा दलहरुबीच पछिल्लो समय एक मत रहेको दाबी गर्दै उहाँले वर्तमान सरकारप्रति प्रतिपक्ष दलहरुले पनि विरोध गरेकाले माओवादी भित्रका केहि नेताहरुको विरोधले कुनै असर नपार्ने दाबी गर्नुभयो । स्थानिय निकाय संचालनको लागि ५ महिनामा निर्वाचन गर्न संभव नरहेको भन्दै उहाँले स्थानीय निकायको निर्वाचनतिर लागे शान्ति र संविधान ओझेलमा पर्ने बताउनुभयो । अर्को सन्दर्भमा मन्त्री रायमाझीले आवश्यक पुर्वाधार खडा गरी ४१ नया नगरपालिका घोषणाको तयारीका सरकार लागेको बताउनुभयो । काठमाण्डौ महानगरपालिका भित्रका सडक बिस्तार अभियानलाई देशैभर लैजाने पनि उहाँले बताउनुभएको छ ।
चिनियाँ पत्रकार टोली पोखरामा ।।
पोखरा
सुन्दरता र प्राकृतिकपन जोगाए मात्र पोखराको पर्यटन व्यवसाय दीगो हुन सक्ने चिनियाँ पत्रकारहरुको टोलीले बताएको छ । पर्यटन परिषदले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी चिनियाँ पत्रकारहरुले पोखराको वातावरण एवं प्राकृतिक सम्पदा संरक्षणका लागि सुझाव दिएका हुन् । कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष र लगानी वर्ष २०१२ को सन्दर्भमा पत्रकारहरुको टोलीले जिज्ञासा राखेको थियो ।
साथै उनीहरुले चीनीयाँ सञ्चारमाध्यममा पोखरा तथा नेपालकै पर्यटकीय गन्तव्यस्थलका बारेमा प्रचार प्रसार गर्ने पनि बताएका थिए । टोली आगामी ३० गते हुने लुम्बिनी भ्रमण बर्ष २०१२ को उद्घाटन कार्यक्रममा सहभागी हुने टोली प्रमुख गोङ्ग जेनीले जानकारी दिनुभयो ।
एकसातादेखिको हिमपात र वर्षा जारी, चिसोले जनजीवन प्रभावित ।।
बाजुरा
एक सातादेखिको हिमपात नरोकिँदा चिसोका कारण बाजुरा जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अत्याधिक चिसोका कारण घर बाहिर निस्कनसमेत समस्या भएको उनीहरुले बताएका छन् । बर्सेनि हिमाली भेगका गाविसमा मात्र पर्ने हिमपात यस वर्ष जिल्लाको तल्लो क्षेत्रमा रहेका अधिकांश गाविसमा पनि पर्न सुरु भएको छ । गएको साताबाट सुरु भएको हिमपात र वर्षा अझै रोकिएको छैन । भारी हिमपात भएपछि हिमाली भेगका विद्यालयहरु एक सातादेखि बन्द छन् । चिसोका कारण जिल्ला बासीलाई गार्ई भैसीलाई पानी समेत खुवाउन समस्या भएको छ । हिमाली भेगका गाउँ बस्ती नै हिमपातले समथरजस्ता देखिएका छन् । चिसो छल्न बेँशी झरेका भोटेजनजातिलाई पनि लगातारको हिमपात र वर्षासँगै बढेको चिसोका कारण दिन काट्न मुस्किल परेको छ । चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढीप्रभावित बनेका छन् । भने छाउपडि र सुत्केरी महिलाहरुले बढी कष्ट सहनु परेको छ ।
भीरबाट लडेर जाजरकोटमा एकजनाको मृत्यु ।
नेपालगञ्ज
भीरबाट लडेर जाजरकोटमा एक जनाको ज्यान गएको छ । जाजरकोट गाविस वडा ४ डाँडाकोट निवासी १८ वर्षका मनसरा खड्काको भीरबाट खसेर आज ज्यान गएको हो । आज बिहान घाँस काट्न गएकी खड्का १२ बजेसम्म नआएपछि खोज्न जाँदा भीरबाट लडेर खोलामा मृत अवस्थामा फेला परेको स्थानिय भक्तबहादुर खड्काले बताउनुभयो । जाजरकोटको पुङगा भन्ने डाँडाबाट करिब २ सय मिटर तल खसेर उहाँको घटनास्थलमै मृत्यु भएको हो । उहाँको शवलाई आजै अन्त्येष्टी गरिएको स्थानिय खड्काले जानकारी दिनुभयो ।
पशु बिमातर्फ उत्साहित हँुदै सिन्धुलीका किसान ।।
, सिन्धुली
सिन्धुली जिल्लामा पछिल्लो समयमा किसानहरु पशु बिमातर्फ उत्साहित भएका छन् । पशुपालन गरेर जिविकोपार्जन गरेका धेरै परिवारले पशु सुरक्षाका लागि विमा गरेको बताएका छन् । व्यवहार चलाउने आधार नै पशुपालन भएकोले आफ्नो बिमाभन्दा पनि पशु बिमा नै महत्वपूर्ण लागेर बिमा गरेको बेलघारीका एक पशुपालकले जानकारी दिनुभयो । यसैबीच हिजोआजआज सिन्धुलीका विभिन्न ग्रामीण भेगमा पशु बिमा गर्नका लागि किसानहरु सङ्गठित हुन थालेका छन् । यसैबीच आज सिन्धुलीको बेलघारीमा पनि पशु बिमा समिति गठन भएको छ । बेलघारी सन्जाल समितिका अध्यक्ष राम भुजेलको अध्यक्षतामा बसेको भेलाले स्थानीय हरिमाया कार्कीको अध्यक्षतामा ९ सदस्यीय पशु बिमा समिति गठन भएको हो । समितिका अन्य पदाधिकारीहरुमा तिलकबहादुर थिङ उपाध्यक्ष, यन्त्रराज भण्डारी सचिवलगायतका रहनुभएको छ । स्थानीय २२ वटा विभिन्न समितिलाई समितिलाई समेटेर बिमा समिति गठन गरिएको छ ।
पाँच वर्षपछि गुल्मी आसपासको क्षेत्रमा हिमपात ।।
गुल्मी
केही दिनदेखि बढेको चिसोका कारण गुल्मीलगायत आसपासका क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा, अर्जुन, शान्तिपुरको सालिमेदह, थाप्लेको लेक, मदानेको लेक, नेटा, छापहिले, दर्लिङ, अर्जै, घमिर, अर्खाबाङ, ईस्मा, हाडहाडे, पुर्कोट, धुर्कोटलगायतका स्थानमा हिमपात भइरहेको छ । त्यसैगरी अर्घाखाँचीको खनदह, खन बाग्लुङको बुर्तिबाङ, घुम्टे तथा घोँडाबाँधेको लेकलगायतका स्थानमा पनि हिउँ पर्ने क्रम जारी रहेको स्थानीय बासिन्दाहरुले जनाएका छन् । हिमपातले चिसो बढेपछि मानिसहरु घरबाट बाहिर निस्कन सकेका छैनन् । झण्डै ५ वर्षपछि यस क्षेत्रमा हिमपात भएको हो ।
बागलुङको बुर्तिबाङमा कृषि तथा पशु मेला पदर्शनी सम्पन्न ।।
बागलुङ
कृषि विकास समिति बुर्तिबाङको आयोजनामा आज बुर्तिबाङ बजारमा कृषि तथा पशु मेला प्रर्दशनी सम्पन्न भएको छ । बुर्तिबाङ गाविस तथा यस आसपासका अधिकारीचौर, देवीस्थान, खुँगालगायतका गाविसबाट पनि प्रर्दशनीमा सहभागीता थियो । प्रर्दशनीमा कृषिजन्य वस्तुहरु, अन्नबाली, तरकारी बाली, नगदेबालीलगायतका कृषि उपजहरु राखिएका थिए भने पशुहरुमा बोका, खसी, बाख्रा, भेंडा, कुखुरा, हाँस, खरायोहरु पनि राखिएको थियो । प्रदर्शनीका अवसरमा उत्कृष्ट हुने वस्तुहरुलाई पुरस्कृत गरिएको थियो ।
आज पनि ढोरपाटन तथा बुर्तिबाङ क्षेत्रमा हिमपात ।।
बागलुङ
बागलुङ जिल्लाको पश्चिमी क्षेत्र ढोरपाटन, बोबाङ, निसी, बोंगादोभान तथा तमान क्षेत्रमा आज मध्यान्नदेखि वर्षा तथा हिमपात भएको छ । केहिदिन यतादेखिको मौषम परिवर्तन सँगै छिटफुट रुपमा वर्ष भइरहँदा निकै चिसो बढिरहेका बेला आज हिमपातसमेत भएको हो । हिमपातका कारण जनजीवन प्रभावित वनेको छ । माथिल्लो लेकहरुमा पशुचौपायासँगै गोठमा बस्ने मानिसहरु तथा लेकाली क्षेत्रका वृद्धवृद्धा र बालबच्चाहरु चिसोले बढी प्रभावित भएका छन् ।
डोटीको वर्छैन क्षेत्रमा भारी हिमपात ।।
डोटी
डोटीको वर्छैन क्षेत्रमा आज दिउसो वाट भारि हिमपात भइरहेको छ । स्थानिय चन्द्र वहादुर सार्कीका अनुसार दिउँसादेखि लगातार हिमपात भइरहेको छ । जसका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । ३÷४ दिनबाट लगातार रुपमा परिरहेको पानी र हिउँका कारण मानिसहरुलाई बाहिरतिर हिंडडुल गर्न निकै कठिनाइ भएको छ ।
पूर्व कमलहरीलाई माघीको उपहार साईकल ।।
लमही
गंगापरस्पुरको माध्यमिक विद्यालय चैनपुरमा अध्ययनरत २६ पूर्व कमलहरी बालिकालाई उपहार स्वरुप साईकल प्रदान गरिएको छ । माघीको उपहार स्वरुप उनीहरुलाई साईकल उपहार प्रदान गरिएको हो । कक्षा ७ मा अध्ययन गर्ने बालिकाहरुलाई साकइल दिइएको हो । क्रियटिङ्ग पोसिबिलिटिज नेपालले दुई सय ५ जना कमलरी बालिकालाई अध्ययनमा सहयोग पु¥याउदै आएको छ । आज त्यही संस्थाको सहयोगमा आज साईकल उपहार स्वरुप प्रदान गरिएको हो ।
यसैबीच माध्यमिक विद्यालय चैनपुरमा भौतिक पूर्वाधारको अभाव रहेको भन्दै दुई कोठे पक्की भवनको पनि शिलान्यास गरिएको छ । १३ लाखको लागतमा निर्माण गर्न थालिएको भवनको सहभागीहरुले सामुहिक रुपमा शिलान्यास गरेका हुन् ।
सरकारी कार्यालयमा तालबन्दी ।।
जाजरकोट
छिन्चु जाजरकोट सडक खण्डमा सिन्डिकेट प्रथा हटाउन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आज जिल्लाका सरकारी कार्यालयहरुमा तालाबन्दी गरेका छन् । सिन्डिकेट हटाउन स्थानीय प्रशासनले वास्ता नगरेको भन्दै विद्यार्थीहरुले सरकारी कार्यालयमा तालाबन्दी गरेका हुन । विद्यार्थीहरुले जिल्ला प्रशासन, प्रहरी जिल्ला अस्पताल बाहेकका सरकारी कार्यालयमा ताल लगाएका छन् ।
आखाँमा लाग्ने ट्रकोमा अर्थात खस्रे रोगको बारेमा अभिमुखीकरण गोष्ठी सम्पन्न ।।
सर्लाही
सर्लाहीको सासापुरमा आँखामा लाग्ने ट्रकोमा अर्थात खस्रे रोगको बारेमा एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा आखाँमा लाग्ने ट्रकोमा रोग निवारण कार्यक्रमको बारेमा चर्चा गरिएको ढुङ्गेखोलाका ग्रामिण स्वास्थ्य कार्यकर्ता इश्वर भट्टराइले बताउनुभयो । नेपाल राष्ट्रिय ट्रकोमा रोग निवारण कार्यक्रम अन्र्तगत माघ १६ गतेदेखि तिन चणमा गरिने ट्रकोमा रोग निवारणका बारेमा छलफल गरिएको थियो । ट्रकोमा रोग लागेपछि आँखा रातो हुने, चिप्रा लाग्ने, परेला नानी पट्टि फर्कने त्यसैबाट अन्धो समेत हुन सक्ने जिल्ला जनस्वास्थ कार्यालय ट्रकोमा रोग निवारण कार्यक्रम फोकल पर्सन तेज नारायण यादवले जानकारी दिनुभयो । यादवका अनुसार नेपालमा कुल जनसंख्याको १० प्रतिशत मानिसमा ट्रकोमा रोग देखिएको छ ।
यसैबीच सर्लाहीका उपस्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले तिन महिनादेखि तलब नपाएकोे गुनासो गरेका छन् । स्थानीय विकास अघिकारी कार्यालयमा नहुँदा कार्तिक महिनादेखि तलब निकासा नभएको उनीहरुले बताएका छन् । जिल्लामा रहेका ८४ वटा उपस्वास्थ्य चौकीका कर्मचारीहरुले तत्काल तलब निकासीको माग गरेका छन् ।
अछाममा अवैध काठसहित ७ जना पक्राउ, जिल्ला अदालतमा मुद्दा दायर ।।
अछाम
अछाम जिल्लाको ढुंगा चाल्ना गाविस वडा नं। १ को अम्मर सामुदायिक वनबाट बिना इजाजत वन पैदावार, ओसारपसार गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय कमलबजारले ७ जना विरुद्ध मुद्धा दायर गरेको छ । पुस ९ गते इलाका प्रहरी कार्यालय कमलबजार अछामले अवैध काठ सहित पक्राउ गरेका व्यक्ति र संलग्न व्यक्तिहरु माथि अछाम जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिनेमा मोहन बोगटी, चालक रामप्रसाद चौधरी, काठ धनी धनबहादुर बोहरा, अम्मर सामुदायिक बनका अध्यक्ष मोतिसिहं बुढा, सचिव जसे वड, सहसचिव गोपाल बुढा र ठेकेदार रामबहादुर बुढा रहेका छन् । मुद्दा चलाइएका मध्ये सामुदायिक वनका पदाधिकारी फरार रहेका छन् भने अन्यलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
अर्गेलीले उचित बजार पाएको स्थानीयबासिन्दाको भनाई ।।
खोटाङ
खोटाङको उत्तरी फेदी गाबिसमा नेपाली हाते कागजको उद्योग स्थापना भएको छ । स्थानीय उद्योगीले एक्ला–एक्लै सञ्चालन गर्दै आएको घरेलु उद्योगलाई मिलाएर संयुक्तरुपमा ‘फेदी सामुदायिक नेपाली हाते कागज उद्योग’ स्थापना गरिएको हो । स्थानीय आठ वटा सामुदायिक बन उपभोक्ता समुह, स्थानीय कागज उद्योगी, दलित, महिला उद्यमीहरुको १८ लाख ४१ हजार ९ सय बराबरको शेयर लगानीमा हाते नेपाली कागज उद्योग स्थापना भएको हो । फेदीको स्थानीय जंगलमा प्रशस्त मात्रामा पाईने र खेर गइरहेका लोक्ता र अर्गेलीलाई सदुपयोग गर्नकालागि नेपाली हाते कागज उद्योग स्थापना गरिएको हो । बार्षिक २ हजार २ सय कोरी नेपाली कागज उत्पादन गर्ने लक्ष्यकासाथ उद्योग स्थापना भएपछि जंगलबाट कुहिएर र नासिएर खेर गइरहेको लोक्ता र अर्गेलीले मूल्या पाएको स्थानीयबासी एबं अन्तरिम वन परियोजनाका उद्योग सहजकर्ता धनकुमार राईले बताउनु भयो । यस्तै, उद्योग स्थापना भएपछि स्थानीयबासीले आफ्नो बारीमा उत्पादन गरेको अर्गेलीले उचित बजार पाएको छ । प्रतिपेज २० ग्राम बराबरको नेपाली कागज सदरमुकाम दिक्तेल, खोटाङबजार, काठमाडौंलगायत देशका प्रमुख शहरहरुमा खपत हुने उद्योगीहरुको भनाई छ ।
स्थापनाको ५७ वर्षपछि मावि संचालन ।।
रामेछाप
रामेछापको भलुवाजोर गाउँ विकास समितिमा विद्यालय स्थापना भएको ५७ बर्ष
पछि मावि स्तरको कक्षा शुरु गरिएको छ । २०११ सालमा स्थापना भएको कमला निम्न माध्यमिक विद्यालय यस वर्षबाट माध्यमिक विद्यालय बनेको हो । सरकारले नमुना गाविस घोषणा गरको १८ वर्षपछि रामेछाप जिल्लाको भलुवाजोर गाविसमा पहिलो माध्यमिक विद्यालय सञ्चालनमा आएको हो ।
हिमाल पावरका मजदुरहरुको आन्दोलन अझै जारी ।।
रामेछाप
श्रम तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय कार्यान्वयनको माग राख्दै, खिम्ती जलविद्युत नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर यूनियनले घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार आज उन्नाइसौं दिन पनि जारी राखेका छन् । खिम्ती १ जलविद्युत केन्द्रको ललितपुर झम्सिखेल कार्यालय, हेडवक्र्स पलाती कार्यालयमा २४ घण्टे धर्ना र किर्ने कार्यालयमा २४ घन्टे धर्ना र १२ घण्टे रिले अनसन जारी राखेका छन । यूनियनका सचिव होम बहादुर फुयाल, यूनियनका सदस्यहरु दिल बहादुर रोका, राममणि भण्डारी र मेघराज दाहाल रिले अनसनमा हुनुहुन्छ । ८९ जना मजदुरहरुले न्यायपूर्ण आन्दोलन शुरु गरेको एक महिना बित्न लागिसक्दा समेत हिमाल पावर लिमिटेड व्यवस्थापन पक्षले मजदुरका न्यायपूर्ण मागहरु प्रति कुनै संवेदनशीलता नदेखाएको भन्दै खिम्ती १ जलविद्युत केन्द्रबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका विभिन्न राजनीतिक दल, सघंसस्थाले संयूक्त रुपमा प्रेस विज्ञप्तिमार्फत व्यवस्थापन पक्षप्रति निन्दा गरेका छन् ।
सरकारी कार्यालयको अनुगमन ।।
महोत्तरी
प्रधानमन्त्री कार्यालयबाट गएको एक टोलीले महोत्तरीका विभिन्न सरकारी कार्यालयहरुको अनुगमन गरेको छ । जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, महिला बिकास कार्यालय, मालपोतकार्यालय लगायतका सरकारी कार्यालयको टोलीले अनुगमन गरेको हो । विकास निर्माणसँग सम्वन्धित सरकारी कार्यालयमा अनियमितता बढेको जनगुनासो आएपछि प्रधानमन्त्रीका स्वकीय सचिव सरस्वती चौधरीको नेतृत्वमा आएको ३ सदस्यीय टोलीले अनुगमन गरेको एकीकृत नेकपा माओवादीका नेता विदुर कार्कीले जानकारी दिनुभयो । महोत्तरीका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले जिल्ला विकास समितिको करोडौं रुपैयाँ हिनामिना गरी विगत ६ महिनादेखि काठमाडौंं बस्दै आएको भनेर आलोचना हँुदै आएको छ ।
जनआन्दोलनका योद्धाको स्मृतिमा निबन्ध प्रतियोगिता ।।
सर्लाही, हरिवन
२०४६ सालको जनआन्दोलनका योद्धा स्वर्गिय नारायण उप्रेतीको १९औं स्मृति दिवसको उपलक्ष्यमा आज सर्लाहीको हरिवनस्थित नारायण उप्रेती स्मृति प्रतिष्ठानले निबन्ध प्रतियोगिता गरेको छ । राष्ट्र निर्माणमा शहिदको भूमिका शीर्षकमा हरिवनस्थित मनकामना आवासिय उच्च माविमा आयोजित निबन्ध प्रतियोगितामा ८ वटा उच्च माविका विद्यार्थीले भाग लिएका थिए ।
यसैबीच हरिवन गाविस भवन अगाडि रहेको उप्रेतीको शालिकलाई आज रंगरोगन गरिनुका साथै शालिक परिसर सरसफाई गरिएको गाविस सचिव राजकुमार थापाले जानकारी दिनुभयो । २०४६ सालको जनआन्दोलनमा पञ्चायती शासन विरुद्ध लड्ने क्रममा प्रहरीको यातनाको असरबाट २०४९ साल पुस २९ गते निधन भएका उप्रेतीको हरेक वर्ष स्मृति दिवस मनाउने गरिएको छ ।
सर्लाहीकै अर्को खबरमा सर्लाहीको हरिवन गाविस वडा नं।७ निवासी सरोज अधिकारीले आफ्नो जन्मदिनको उपलक्ष्यमा आज नेत्रगंज गाविस वडा नं। ३ स्थित पद्म भुवनेश्वरी नमूना वृद्ध सेवा आश्रमका वृद्धवृद्धाहरुलाई मिष्ठान्न भोजन गराउनु भएको छ । हरिवन– ९ निवासी विनोद नेपालको नेतृत्वमा रहेको युवा समूहमा रहनु भएका अधिकारीले यस पटक वृद्धवृद्धाहरुको सेवा गरेर जन्म दिन मनाउनु हो । युवा समूहले यस अघि पनि त्यहाँका वृद्धवृद्धाहरुलाई मिष्ठान्न भोजन तथा उपयोगी समाग्री वितरण गर्दै आएको छ ।