अपराधीहरु लुकाउने प्रयास
सुमन बैरागी
काठमाडौ, पुस २८ गते ।
पछिल्लो समयमा संगीत उद्योगमा भइरहेको पाइरेसीको कारण संगीत उद्योग नै धराशायी बन्दै गइरहेको भनेर संगीतकर्मीहरुले दुखेसो पोखिरहेकै अवस्थामा संगीतमा सीआरबीटि प्रविधिले मात्र धानिन पुगेको संगीत उद्योगमा सीआरबीटी चोरीको घटना पनि बढ्दै गएको छ । फितलो पासवर्ड सुरक्षा र आफ्नै कर्मचारीको संलग्नतामा भइरहेको सीआरबीटी चोरीलाई नेपाल टेलिकमले सामसुम पार्ने प्रयास गर्दै अर्कैको नाममा सिआरबीटि सार्ने काम गरिरहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार अर्काका मोबाइल नम्बरबाट पैसा काटिने गरी सीआरबीटी चोर्ने काम धन्दाकै रुपमा चलाइएका आईपी एड्रेस टेलिकमकै कर्मचारी विमलेश झाको स्वामित्वका पाइएको थियो । हजारौं आईपी एड्रेस भएका झासँगको मिलेमतोमा भएको सीआरबीटी चोरीको घटनालाई टेलिकमले आन्तरिक छानबिन भइरहेको भन्दै अनिश्चितकालिन सिआरबीटी सेवा बन्द गराएको छ । टेलिकमका प्रवक्ता सुरेन्द्रमान थिकेका अनुसार चोरीमा संलग्न भएकाहरुको छानबिन र अनुसन्धान भइरहेको बताए पनि प्रारम्भिक अनुसन्धानमा टेलिकमकै कर्मचारीहरुको आइपी एड्रेसबाट सिआरबिटी चोरी भएको देखिएको छ ।
आइटी प्रमुख झाले आइपी प्रदायक एप्नेकले टेलिकमलाई बेचेका एड्रेसमा टेलिकमको टेक्निकल पर्सनका तर्फबाट आफ्नो नाम रहेको स्वीकार गरिसकेका छन् ।
टेलिकमका करिब १ लाख १२ हजार आइपी एडे«स छन् । सुविसु केबल नेट पनि टेलिकम जस्तै एप्नेकबाट आइपी किन्ने निकाय हो । प्रारम्भिक छानबिनमा सुविसुको आइपीबाट पनि सिआरबिटी चोरी भएको देखिएको छ । हजारौं आईपी एड्रेस एउटा कर्मचारीको नाममा, त्यो पनि ठेगाना, फोन नम्बरसमेत इन्ट्री गरेर कसरी रहन्छन् ? भन्ने प्रश्न अहिले सबैको मनमा उब्जेको छ । सीआरबीटीको सुरुवात गर्ने संस्था टेलिकमकै एक उच्च प्राविधिकको नामा रहेको आइपी एड्रेसबाट यो चोरीको घटना भइरहेको छ भने ग्राहकका पैसाबाट यस्ता धन्दामा लागेका पोल खुल्ने भएकाले संस्थागत संरक्षणको प्रयासमा अहिले रातारात नामसारी गर्ने काम गरिन लागेको स्रोतको दाबी छ ।
केही समयअघिदेखि बढ्न थालेको यो सीआरबीटीको चोरीको घटना अझ बढ्दै गएपछि चरम रुप लिन पुगेको हो । यस चोरीको घटनामा संगीत उद्योग कम्पनीका धेरैको नाम अगाडि आइसकेको छ । यसभन्दा अगाडि पनि एक वरिष्ठ गायकले आफूले गाएका गीतहरुलाई एसवाई म्यूजिकको नाम दिएर पनि सिआरबीटी चोरी गरेका थिए । त्यस्तै आहिले पनि यो चोरीको घटनामा आशिश म्यूजिक अगाडि देखिएको छ । यस म्यूजिक कम्पनीले त सिआरबीटी चोरीबाटै आफ्नो र आफन्तको नामा घर घडेरी समेत जोडिसकेको भन्ने समाचारहरु पनि प्रकाशनमा आउन थालेको छ । यस्ता चोरी गर्ने कम्पनीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्न संगीत उद्योग कम्पनी र संगीत उत्पादक कम्पनीहरुले जोडदार माग गरेका छन् ।