काठमान्डौ पुस २४ गते ।
शान्ति र संविधानप्रति सत्ताको नेतृत्वकर्ता दल एकीकृत नेकपा माओवादी गैरजिम्मेवार बनेको नेपाली काङ्ग्रेस र नेकपा एमालेको ठम्याईप्रति अरु साना दलहरुले पनि समर्थन जनाएका छन् । आज सिंहदरबरमा भएको छलफलमा दुई ठूला प्रतिपक्षी दलको भनाइलाई समर्थन गर्दै साना दलहरुले यस विषयमा संसदमा पनि कुरा उठाउने प्रतिवद्धता जनाएका छन् ।
काङ्ग्रेस एमालेले आज सबै सानादलहरुसँग छलफल नभ्याएकाले भोलि दिउसो फेरि बाँकी साना दलहरुसँग छलफल गर्ने बताएका छन् । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले विगतमा भएका सम्झौता कार्यान्वयनका लागि राखिएका प्रस्तावमा साना दलले समर्थन जनाएको बताउनुभयो ।
साना दलहरु पनि यसमा सहमत भएको भन्दै पौडेलले भोलि पनि छलफल गरी थप दवावमूलक रणनीति तयार गरिने बताउनुभयो । यस्तै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादी लडाकुको समायोजन, पुनःस्थापनामा माओवादी उदासीन भएको भन्दै पुनःवर्गीकरणमा पछि शान्ति प्रक्रिया झन् अवरुद्ध हुनुमा माओवादी नै गैरजिम्मेवार भएको दावी गर्नुभयो । यस अघि भएका सबै सम्झौता कार्यान्वयनका लागि दवाव दिने विषयमा अरु साना दलहरुले समर्थन जनाएको पनि खनालले बताउनुभयो ।