काठमाडौं माघ ७ गते ।
सिनेमा आर्थिक ‘संकटकाल’को बहस भैरहँदा प्रदर्शनरत ‘लूट’ले सिनेमा किन चल्दैनन् भन्नेतर्फ गम्भिर भएर सोच्न नेताहरूलाई बाध्य पारिदिएको छ । हप्तैपिच्छे सिनेमा उत्रने र लगानी असुरक्षित भैरहेको बेला ‘लूट’ले दिएको ‘सिनेमा राम्रो हुनुपर्छ’ भन्ने सन्देश विचारणीय छ । ‘लूट’ किन चल्यो ? अहिलेको बहस यहीँनेर छ । क्रिटिक्स (समालोचक)को समालोचनालाई आधार मान्दा ‘लूट’ चल्नुका पाँच आधार यस्ता छन् ।
गालीहरूको आदानप्रदान
जोकोही पनि सार्वजनिक स्थानमा रहेर अश्लिल र फोहोरी लाग्ने गालीका वाक्यहरू ठूलो स्वरमा बोल्दैनन् र गाली गर्दैनन् । तर, सिनेमा हलजस्तो सार्वजनिक ठाउँमा ‘लूट’ले यो मान्यताको विपरित आफूलाई प्रस्तुत गर्यो । जसका संवादहरू यथार्थपरक त छन् तर सार्वजनिक स्थानमा बोल्न ग्राह्य लाग्दैनन् । फोहोर र गालीगौचरका प्यारोडी संवादले गर्दा ‘लूट’ले दर्शकीय मनोविज्ञान आत्मसात गरेको हो ।
चरित्रकरणमा स्पष्टता
‘लूट’का पात्र र चरित्रहरूलाई यति सरस र सुबोधगम्य ढंगले प्रष्टरुपमा चित्रण गरिएको छ जसलाई सामान्य दर्शकले पनि पहिल्याउने सामथ्र्य राख्छन् । चरित्रहरूको पृष्ठभूमि, लक्ष्य र उद्देश्य केही हदसम्म स्पष्ट छ । पात्रहरूको विगत र वर्तमानको परिस्थितीलाई स्पष्ट ढंगले देखाइएको छ ।
इन्गेजमेन्ट (आबद्धता)
तृतीयांश नेपाली सिनेमाको प्लट मेकिङबीच कुनै आबद्धता हुँदैन । जसले गर्दा दर्शकलाई मात्र होइन निर्देशक स्वयम कन्फ्युजमा छ कि भन्ने बोध हुन्छ । तर, ‘लूट’ले सुरुको फ्रेमदेखि समाप्तीको फ्रेमसम्म दर्शकीय मनोविज्ञानलाई इन्गेजमेन्ट तुल्याएको छ । प्रदर्शन अवधिभर सिनेमाले दर्शकलाई बाँधीराख्छ । सामान्य मनोरञ्जनको अभिलाषा लिएर हल पुगेका दर्शकलाई पनि सिनेमाले आबद्ध तुल्याउँछ ।
फ्रेसनेस (ताजापन)
‘लूट’ बलिउडको मेलोड्रामाटिक कन्टेन्टबाट मुक्त छ । हिजोका व्यावसायिक कलाकारहरूको टाउको र अनुहार देख्नुपर्दैन सिनेमाभित्र । किनभने, दर्शकको मनोविज्ञानले जहिलेपनि फ्रेसनेस खोजिरहेको हुन्छ । किनभने नेपाली सिनेमाका दर्शकहरू मध्यमवर्गबाट प्रतिनिधित्व गर्छन् । विशेषताले उनीहरू यथास्थिती रुचाउँदैनन् । ‘लूट’ले यो एस्थेटिक भ्यालुलाई ग्रहण गरेको छ ।
प्याकेजिङ (आकार दिनु)
सिनेमालाई उत्पादनमात्र नभई वितरण र प्रचार गर्ने ‘टीम’को निर्णय सहि थियो । वितरण, प्रदर्शन र पब्लिसिटीमा ‘लूट’ले अनुकूलता पायो । कथालाई स्टाइलिस बनाउनेदेखि लिएर इन्टरनेट पुस्तालाई सही प्रिभ्यू पुर्याउने काममा ‘लूट’ कुनै कसर बाँकी राखेन ।
मेरोसिनेमा