रामप्रसाद ढुङ्गेल
कतार– झट्ट हेर्दा प्रोफेसनल बडी बिल्डरजस्ता देखिने लक्ष्मी शिवाकोटी र जगतराम बर्देवा कतारमा श्रम गर्ने लाखौं नेपालीभित्रै पर्छन् । पुष्ट शरीर, तिघ्राझैं देखिने पाखुरा, चौडा छाती अनि शारीरिक अभ्यासका बेला देखिने गँँठैगाँठा । शरीरको बनोट नै विशेष प्रकारका भएका यी दुईले शारीरिक सुगठनका लागि निकै मिहिनेत र समय भने खर्चिएका छन् । दैनिक एक देखि डेढ घन्टा योगाभ्यास र शारीरिक अभ्यासका लागि छुट्याउने यी दुवैको खाना प्राय शाकाहारी र सबै पौष्टिक तत्व भएको क्यालोरीयुक्त हुने गर्छ । आर्थिक अवस्था कमजोर भएका कारण कतार आएको बताउने यी दुवैको शारीरिक मात्र होइन, मानसिक अवस्था भने सुदृढ छ । अनौठो संयोग त यो छ कि दुवै जनामा साहित्यप्रति विशेष रुचि छ भने सिर्जना गर्नमा दुवै जना विशेष दक्षता पनि राख्छन् ।
विगत चार वर्षदेखि कतारको टोयोटा कम्पनीमा अकोमोडेसन इन्चार्जको रुपमा काम गरिरहेका लक्ष्मीको परिचय यतिमै सीमित छैन । नेपाल टेलिभजनबाट २०५४ सालमा प्रसारित सिरियल बाबुको बिहेमा खलनायकको भूमिका निर्वाह गरिसकेका लक्ष्मी एक कलाकार पनि हुन् । साहित्यमा विशेष रुचि राख्ने उनले जीवन, दर्शन, माया, प्रेम र विछोडसम्बन्धी विविध रचना समेटिएको एक पुस्तकको पान्डुलिपि पनि तयार पारिसकेका छन् । आगामी वर्ष त्यसलाई प्रकाशनमा ल्याउने उनको विचार रहेछ । त्यसो त हरेक वर्ष एक महिने छुट्टीमा नेपाल जाँदा केही न केही नयँँ काम गर्ने उनको योजना रहेछ । गत जेठमा नेपाल पुगेका उनले कान्तिपुर टेलिभिजनबाट प्रसारित हाँस्य टेलीशृंखला हर्के हल्दारमा अभिनय गर्ने अवसर पनि पाएछन् । उनलाई कलाकर्मी प्रकाश सुवेदीले आफ्ना अन्य शृंखलामा पनि अभिनय गर्ने अवसर दिएका रहेछन् तर कतारको जागिरले उनलाई अगाडि बढ्न दिएन ।
गोर्खाका जगतराम बर्देवाको रामकहानी पनि कम मर्मश्पर्शी छैन । नेपालमा काठमाडौं–काँकडभिटा रुटको नाइट बसका ड्राइभर जगतरामको दैनिकी परिवारका साथमा सुखैसँग बित्दै थियो । तर, दुर्भाग्यवश एक दिन कारसँग आफ्नो बस दुर्घटनामा परेपछि जगतराम नख्खु जेलमा दिन बिताउन विवश हुन्छन् । सवारी दुर्घटना भएको १३ दिनपछि कार चालकको मुत्यु भएपछि प्रहरीले उनको बसमा खानतलासी गर्छ । दुर्भाग्यवश, यस क्रमा माओवादी छापामारले छाडेका हातहतियार उनको बसमा फेला पर्छन् । नेपालमा सरकार र माओवादी विद्रोहीबीच सशस्त्र द्वन्द्व चलिरहेको अवस्थामा राजमार्गमा नाइट बस चलाउनु कम जोखिमपूर्ण काम थिएन जगत्रामका लागि । आफ्नै गाडीमा पेस्तोल र अन्य विस्फोटक पदार्थ लुकाएर राखेको भेटेपछि ड्राइभर जगतराम पनि प्रहरीको थप शंकाको घेरामा परेछन् । यसरी आफू निर्दोष भए पनि पुनः जेलमा पर्नु पर्दा जगतराम आफ्नै भाग्यलाई दोष दिँदै जेलमै टाक्सिएर बाँच्न बाध्य हुन्छन् ।
२०३५ सालमा माता देवीमाया र पिता शशिधरका सुपुत्रका रुपमा भारतको असममा जन्मेका लक्ष्मीको बाल्यकाल भने झापाको गरामनी र दमकको सेरोफेरोमा बितेको रहेछ । बाल्यकालमा अत्याधिक फिलिम हेर्ने लक्ष्मीले हिरो बन्ने सपना देखेका रहेछन् । गाउनमा पनि रुचि राख्ने लक्ष्मीले कराँते र बक्सिङ पनि महागुरु दीपक राईबाट सिकिसकेका रहेछन् । तर, आर्थिक विपन्नताका कारण उनले न त आफ्नो औपचारिक अध्ययनलाई पूरा गनर््ृ सके न त कलाकारितामा अगाडि बढ्न सके । सानै उमेरमा पारिवारिक जिम्मेवारी आफ्नै कँँधमा आइलागेपछि उनको प्रतिभाले मुखमा माड लगाउन सकेन । त्यसैले नेपालमै रहँदा व्यापारमा हात हालेका उनले लगातारको बन्द र हड्तालले गर्दा उल्लेख्य सफलता हासिल गर्न सकेनछन् । त्यसैले उनी रोजगारीको सहज गन्तव्य कतार छिरेका रहेछन् ।
जेलको निस्सासिँदो वातावरण, बिचल्लीमा परेको आफ्नो परिवार र आफ्नो निर्दोशपनको त्रिकोणात्मक कथालाई लोकलयमा उन्दाउन्दै अनि जेलभित्रको पुस्तकालयका पुस्तकहरु पढ्दापढ्दै जगतराममा साहित्यिक चेतना पसिसकेको हुन्छ । जेलजीवनको करिब डेढ वर्षपछि आफ्नो जीवन कहानीलाई एचबीसी एफएमका साहित्यिक कार्यक्रम प्रस्तोता दीपक शर्मामार्फत सार्वजनिक गर्ने अवसर पाएका उनले श्रोताहरुबाट अनपेक्षित फिडब्याक पाउँछन् । उनको हृदयश्पर्शी कहानी सुनेका केही श्रोताहरु पmलफूल लिएर सहानुभूति प्रकट गर्न जेलमा भेट्न आउन थालेपछि उनले साहित्यमा अनौठो शक्ति हुँदोरहेछ भनी आजीवन साहित्यको पूजा गर्ने प्रण गरेका रहेछन् । नख्खु जेलमा दुई वर्ष १८ दिन बसेर बाहिर आएपछि फेरि स्वदेशमै बस्ने कि बिदेसिने भन्ने अन्योलमा झुन्डिदा झुन्डिदै कतार हान्निएका रहेछन् जगतराम । हिजोआज गाडी कुदाउँदै भए पनि श्रुतिमधुर गजल रचना गर्ने जगतराम चार महिनाभित्रै एउटा गजलसङ्ग्रह निकाल्ने तरखरमा छन् ।
फरकफरक कथा, फरकफरक व्याथा भए पनि शारीरिक समानता भएका यी दुवैको भेट भने साहित्यिक कारणले भएको हो । नवोदित साहित्यिक मोबाइल पुस्तकालयको मासिक वाचन शृंखलामा भेटिएका यी दुवैको शरीरझैं साहित्यिक उचाइ पनि फलोस् अनि फुलोस् । हाम्रो अग्रिम शुभकामना ।