काठमाडौं, पुष २१ – बहिर्गमनमा परेका लडाकूले नेपाल बन्द सहित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । सरकारसित बिहीबार भएको वार्तामा दुई बुँदे सहमति भएपछि लडाकूले बन्द फिर्ता लिएका हुन् ।
सरकार र लडाकूबीच आन्दोलनका क्रममा पक्राउ परेका लडाकूको विवरण बुझाएर बहिर्गमनमा परेको लडाकु आफैले आर्थिक प्याकेजको प्रस्ताव गर्ने तथा त्यसमा सरकारसित छलफल गर्ने र लडाकूले सबै आन्दोलका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । शान्ति मन्त्री सत्या पहाडी र बहिर्गमनमा परेका लडाकूका संयोजक सागर लिम्बुले सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।
आफूलाई अयोग्य भनिएकोमा आपत्ति जनाएर आफ्नो समस्या समाधान गर्न माग गर्दै लडाकूले नेपाल बन्द गरेका थिए । बन्दका कारण काठमाडौं उपत्यकालगायत बाहिरको जनजीवन प्रभावित भएको छ ।